April 21, 2024, Sunday
२०८१ बैशाख ९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लाप्चा क्षेत्रकाे सिमानामा नेपाली भूमिमा भवन निर्माण गर्दै चिनियाँ पक्ष

लाप्चा क्षेत्रकाे सिमानामा नेपाली भूमिमा भवन निर्माण गर्दै चिनियाँ पक्ष

असाेज ०५, हुम्ला । नेपाली भूमिसँग सीमा जोडिएको चीनको सिमाना लाप्चा क्षेत्रमा चिनियाँ पक्षले अवैध रूपमा भवन निर्माण गरिरहेकाे छ । नेपाली भूभागमै पर्ने हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे । दुई देशको सिमाना भन्दा एक किलोमिटर नेपालतिर नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको छ ।

शनिबार मात्र लाप्चा क्षेत्र पुगेर फर्किएका सिमकोट गाउँपालिकाका उपाध्यक्ष बलि रावतले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको बताए । लाप्चा क्षेत्रको नेपाली भूभाग गबु याल्मामा ती ब्लक बनेको बताउँदै आफू उक्त क्षेत्रमा जान खोज्दा त्यहाँ जान नदिएको उनले बताए ।

Advertisement

उक्त भवन के प्रयाेजनका लागि निर्माण गरिएको हो भन्ने जानकारी पनि नभएको रावतले बताए । यसअघि २०६६ सालमा सोही स्थानमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको भए पनि नेपाली पक्षको विरोधपछि चिनियाँ पक्षले उक्त निर्माण कार्य रोकेको थियाे ।  हाल थप नयाँ भवन निर्माण गरेको टाढाबाटै देखिने तर सो क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न समेत नदिएकाे बताइएकाे छ ।

तर चिनियाँ सुरक्षाकर्मीहरु भने गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गरिरहेको एक हप्ताअगाडि लाप्चा पुगेका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताए । हाल भवन निर्माण भएको स्थानभन्दा ७-८ सय मिटर पर डाँडामा १२ नम्बर सीमा स्तम्भ रहेको छ भने त्यो सँगै नजिकै ११ नम्बर सीमास्तम्भ (पिल्लर) भने हराएको छ । जो हालसम्म पत्ता लगाउन नसकिएको नाम्खा वडा नम्बर ६ का वडा अध्यक्ष पाल्जोर तामाङले पनि बताए ।

नेपाली भूमिमा चिनियाँ पक्षले भवन बाएको जानकारी पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा यसबारे बुझ्न र सीमा स्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा टोली लाप्चा गएको छ । अहिले सुनेको भए पनि वास्तविकता के हो ? त्यहीँ गएर जानकारी लिने र के भएको हो, टुङ्गो लगाएर आउने प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

भवन बनाइरहेकाे क्षेत्रकाे अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र नाम्खा गाउँपालिकाका अध्यक्षको टोली उक्त क्षेत्रमा गएको छ ।

पिल्लर हराएको ५ वर्षसम्म पनि खोजी भएन

चीन र नेपालको सीमामा हराएको स्तम्भको खोजीकार्य कुरामा मात्र सीमित भएको छ । नेपाल र चीनसँग जोडिएका सीमाका पिल्लरमध्ये हुम्ला जिल्लासँग १२ वटा पिल्लर रहेकोमा नाम्खा गाउँपालिका– ६ लिमीसँग जोडिएको ११ नम्बरको पिल्लर भत्केको वा हराएको हो, कसैलाइ थाहा छैन ।

२०७२ सालमा जिल्ला प्रशासन कार्यालय हुम्ला र तिब्बतको स्वशासित क्षेत्र ताक्लाकोटको पुराङ्ग प्रशासनसँग वर्षेनी गरिने सीमा वार्तामा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले प्रमुख एजेन्डाका रुपमा राखेपछि दुवै पक्ष मिलेर उक्त स्तम्भ खोजी गर्ने सहमति भएको थियाे । तर सहमति भएको ५ वर्ष बिति सक्दा पनि अहिलेसम्म दुवै पक्षबाट सो स्तम्भ खोजीका लागि कुनै पहल भएकाे छैन ।

हराएकाे पिल्लरबारे कसैले वास्ता नै नगरेको नाम्खा गाउँपालिका वडा नं. ६ लिमिका वडाअध्यक्ष पाल्जोर तामाङले बताए । हराएको स्तम्भको बारे कुरा निस्केको भए पनि काम नगर्ने कुरा मात्र गर्ने हाम्रो प्रवृत्तिका कारण यसो हुन गएको हिल्सामा लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका कार्मातुन्डुप लामाले बताए ।