April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना संक्रमणबाट वीरगन्जमा थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगन्जमा थप चार जनाको मृत्यु

असोज ०५, वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्जको अस्पतालमा उपचारार्थ थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाका दुई जना तथा बारा र रौतहटका एकएक जना रहेका छन् ।

उपचारको क्रममा शनिबार एक जना तथा आइतबार तीनजना संक्रमितको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका– ४ बिर्ताका ७८ वर्षीय पुरुषको शनिबार अपराह्न करिब ४ बजेको समयमा मृत्यु भएको थियो । श्वास-प्रश्वासमा समस्या भएपश्चात् भदौ ३१ गते उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालमा उपचार भइरहेको ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो ।

Advertisement

नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान ७ः३० बजेको समयमा मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या भई ती पुरुष भदौ ३१ गते अस्पतालमा भर्ना भएका थिए । त्यसैगरी नारायणीमै उपचार गराइरहेका वीरगन्ज महानगरपालिका– ६ रेसमकोठीका ८८ वर्षीय संक्रमितको पनि आइतबार बिहानै मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार उनी असोज २ गते अस्पताल भर्ना भएका थिए भने उपचारको क्रममा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै वीरगन्जको नगवामा नेशनल मेडिकल कलेजले संचालन गरेको अस्थायी कोभिड अस्पतालमा उपचार भइरहेको बारा जिल्लाको कलैया उपमहानगरपालिका– १३ बलिरामपुरका ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको थियो । मधुमेह र मुटुसम्बन्धी रोग रहेका उनलाई स्वास-प्रस्वासमा समस्या भएपछि असोज १ गते अस्पताल भर्ना गरिएको थियो ।

मृतक चारैजनासँगै कारोना संक्रमणबाट वीरगन्जमा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । जसमा पर्साका ४६ जना, बाराका १५ तथा रौतहटका ३ जना रहेका छन् ।