May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
केरुङमै रोकिए ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज,बीसीजी खोप प्रभावित

केरुङमै रोकिए ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज,बीसीजी खोप प्रभावित

आश्विन ६, काठमाडौं । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएको व्यवसायीले बताएका छन् ।

रसुवागढीमा कोभिड–१९ संक्रमित भेटिएको र तातोपानीको नेलाम क्षेत्रमा स्थानीय ताल फुट्ने सम्भावना रहेको भन्दै चीनले नाका बन्द गरेको हो । स्वास्थ्य सेवा विभागले साताअघि नै केरुङको सडकमा अलपत्र सिरिन्ज भित्र्याउनका लागि सहजीकरण गरिदिन रसुवागढी भन्सारलाई पत्र पठाएको थियो ।

Advertisement

विभागले भन्सारलाई लेखेको पत्रमा भनिएको छ, ‘बालबालिकाको खोपलाई चालु राख्न नभई नहुने सिरिन्जको स्टक कम रहेको छ ।’ सिरिन्ज भित्रन ढिलाइ भए बालबालिकाको खोप प्रभावित हुने जानकारी विभागले स्वास्थ्य मन्त्रालयलाई दिइसकेको छ । भन्सारले भने आफ्नो पहलबाट सामान ल्याउन नसक्ने जानकारी माथिल्लो निकायमा दिएको छ ।

स्वास्थ्य सेवा विभागका निर्देशक रमेश खरेलले खोपमा प्रयोग हुने सिरिन्ज संवेदनशील भएकाले स्टक नसकिँदै छिटो ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘स्टक कति छ त भन्न सक्दिनँ तर सकिन दिनुभएन ।’

स्वास्थ्य विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक गौतमका अनुसार बीसीजी खोप जन्मनेबित्तिकै लगाउनुपर्छ । कुनै कारणले छुटे १५ महिनासम्मका बालबालिकालाई लगाउन सकिन्छ । यो क्षयरोगविरुद्ध दिइने खोप हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले केरुङ नाका खुलाउन चिनियाँ पक्षसँग कुरा भइरहेको जानकारी दिए । सिरिन्ज खरिदको टेन्डर सकारेका जनमुक्ति हेल्थ इन्टरप्राइजेजका सेयर होल्डर वीरेन्द्र थापाका अनुसार विभागले ताकेता गरेपछि तोकिएको भन्दा बढी ढुवानी भाडा तिरेर सामान ल्याइँदै थियो ।