April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विप्लवका लमजुङ जिल्ला इन्चार्जसँगै ६ जना विष्फोटक पदार्थसहित पक्राउ

विप्लवका लमजुङ जिल्ला इन्चार्जसँगै ६ जना विष्फोटक पदार्थसहित पक्राउ

लमजुङ : प्रहरीले नेत्र विक्रम चन्द्र (विप्लव) समूहका लमजुङ इन्चार्जसहित ६ जनालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको छ। 

प्रहरीले लमजुङको दोर्दी गाउँपालिका–८ खिन्चोक पाँचस्वाराबाट रोल्पाको गंगादेव गाउँपालिका–२ घर भएका विप्लव समूहका लमजुङ जिल्ला ईन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी (आक्रोश), लमजुङको दोर्दी गाउँपालिका–७ घर भएका जिल्ला सेक्रेटरी ४६ वर्षीय बिलबहादुर गुरुङ (गौरव) सहित ६ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्ने अन्यमा लमजुङ मध्यनेपाल नगरपालिका–४ का लमजुङ जिल्ला कमिटी सदस्य ६२ वर्षीय नारायणबहादुर कुँवर, राईनास नगरपालिका–६ का लमजुङ जिल्ला कमिटी सदस्य ३४ वर्षीय रवीन्द्र नखोला, कार्यकर्ताहरु दोर्दी गाउँपालिका–७ का २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल नगरपालिका–१० का २६ वर्षीय सुजन थापा छन्। 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार विप्लवका नेता तथा कार्यकर्ता भेला भई अवाञ्छनीय गतिविधि गरेको विशेष सूचनाका आधारमा राति १ बजे विष्फोटक पदार्थसहित उनीहरुलाई पक्राउ गरिएको हो।

थापाको नेतृत्वमा खटिएको प्रहरीले उक्त स्थानमा घेराबन्दी गरी खानतलासी गर्दा  विष्फोटक पदार्थसहित विप्लवका नेता कार्यकर्ता पक्राउ परेका हुन्। 

उनीहरुको साथबाट विष्फोटक पदार्थ गन्धक ५०० ग्राम, बारुद ५०० ग्राम, सोडा ५ केजी, सेप्टिक फ्युज १.५ मिटर, रोल क्याप लेखिएको पटका ७ रोल, सिसाका छर्राहरु बरामद भएका छन्। 

यस्तै पार्टीसँग सम्बन्धित पोष्टर ५० थान, नेपाल कम्युनिष्ट पार्टीको पर्चा ५० थान, नगद ३१ हजार ६ सय ८५ रुपैयाँ, चन्दा रसिद एउटा, ग१५प ८१३७ नं. र बा७४प ७०८७ नम्बरको मोटरसाइकल, मोबाइल ८ थान  र सिमकार्ड ६ थानसमेत बरामद भएको थापाले बताए। पक्राउ परेकालाई विष्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।