April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अप्ठ्यारोमा परेपछि ओलीको ‘स्टन्ट’ : देउवा भेटेर प्रचण्ड-नेपाल तर्साउने

अप्ठ्यारोमा परेपछि ओलीको ‘स्टन्ट’ : देउवा भेटेर प्रचण्ड-नेपाल तर्साउने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संकट जारी रहेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको विषयले राजनीतिक वातावरण तातिएको छ। दुई नेताबीच भएको यथार्थ विषय सार्वजनिक नभए पनि ओलीले देउवालाई सत्ता साझेदारी गरेको बताएको छ।

पार्टीभित्र अप्ठ्यारोमा परेका बेला ओलीले विगतमा पनि यस्तो भेट गर्ने र कतिपय चर्चित अभिव्यक्ति दिने गरेका थिए। पछिल्लो भेट र भेटका विषयमा सार्वजनिक भएका खबरलाई पनि सोही रुपमा बुझ्नुपर्ने नेकपाकै कतिपय नेताहरुको भनाइ छ। उनीहरु यसलाई ओलीको ‘स्टन्ट’को रुपमा अर्थ्याउँछन्। पार्टीमा आफू अनुकूल निर्णग गराउन वा आफूलाई दबाब दिइरहेका नेताहरुलाई तर्साउन ओलीले यस्ता ‘स्टन्ट’ गर्ने गरेको उनीहरुको आरोप छ।

Advertisement

प्रधानमन्त्री ओलीले गत शनिबार दिउँसो कांगेस सभापति शेरबहादुर देउवालाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए। ‘संवैधानिक निकायको नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्रीज्यूले गर्न देउवालाई बोलाउनु भएको रहेछ। उहाँहरुले संवैधानिक निकायको भागबण्डाका विषयमा छलफल गर्नुभयो’, एक प्रभावशाली मन्त्रीले भने, ‘छलफलमा सत्ता साझेदारीको विषयमा सामान्य छलफल मात्रै भएछ। खासमा पार्टी फुटाएर सत्ता साझेदारी गर्नेभन्दा पनि पार्टीमा आफ्नो पक्षमा माहोल बनाउन कुरा गरिएको रहेछ।’

तर बाहिर भने प्रधानमन्त्रीले पार्टी नै फुटाएर कांग्रेससँग सत्ता साझेदारी गर्न खोजेको जस्तो सन्देश गएको ती मन्त्रीको भनाइ छ।

‘कांग्रेससँग सत्ता साझेदारी गरेर जाने विषयमा प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभयो भनेर मिडियामा सार्वजनिक भएपछि मेरो पनि चासो भयो। त्यसपछि कांग्रेसका मुख्यमुख्य नेताहरुसँग कुरा पनि गरें’, ती मन्त्रीले भने, ‘तर, कांग्रेसका नेताहरुबाट सत्ता साझेदारीमा जाने अवस्था नै छैन भन्ने आयो। उनीहरुको कुरा बुझ्दा प्रधानमन्त्रीज्यूले आफू अप्ठ्यारोमा परेपछि ‘स्टन्ट’ गर्न खोज्नुभएको भन्ने लाग्यो।’

यसअघि ओलीले दललाई फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याएर, संसद अधिवेशन अन्त्य गरेर र एमाले पार्टी निर्वाचन आयोगमा दर्ता गराएर पार्टीका अरु नेतालाई दबाबमा राखेका थिए। परिणामतः प्रधानमन्त्रीले पार्टी विभाजन नै गर्न खोजिरहेको आशंका फैलिएपछि मध्यमार्गी नेताहरु सक्रिय भएर विवाद समाधानका उपाय पहिल्याएका थिए। जसका कारण राजीनामा मागिरहेका नेताहरु पछि हटेका थिए। अहिले पनि पार्टी विभाजनको हल्ला चलेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष पछि हट्ने बाध्य बनाउने ओलीको रणनीतिको रुपमा पछिल्लो भेटलाई हेरिएको छ।

देउवासँग मात्रै होइन, अप्ठ्यारोमा परेपछि ओली पटकपटक राष्ट्रपतिसँग पनि भेट गर्ने गर्छन्। जुन उनले अघिल्लो हप्ता पनि दोहोर्‍याएका थिए। गत असार-भदौमा पनि राष्ट्रपतिसँगको बारम्बार भेटबारे चर्चा भएको थियो।

पार्टीमा चर्को विवाद भए पनि विभाजनसम्मको अवस्था नआउने अर्का मन्त्री बताउँछन्। ‘अहिले दुई अध्यक्षवीच अविश्वासको ठूलै खाडल छ। नेतृत्व तहमा सहज संवाद हुन सकेको छैन’, उनको भनाइ छ, ‘तर, पार्टी विभाजन गरेर होइन, पार्टीभित्रै रहेर एकले अर्कोलाई कमजोर पार्ने रणनीतिमा लागेका छन्।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि पेश गरेको प्रस्तावका विषयमा अर्का अध्यक्ष ओलीले कसरी जवाफ दिन्छन्, त्यसले पनि पार्टी विवादको परिणाम निर्धारण गर्ने भएको छ। ‘प्रचण्ड कमरेडले यसअघि प्रस्तावमा उठाउनु भएको विषयको जवाफ ओली कमरेडले एकएक गरी जवाफ दिन्छु भन्नुभएको छ। त्यो जवाफ कति नरम/गरम आउँछ, त्यसले पनि निर्धारण गर्ला’, उनको भनाइ छ, ‘यदी प्रधानमन्त्रीज्यूले प्रचण्ड कमरेडले उठाएको विषयको जवाफ दिएर बैठकमा संयुक्त प्रतिवेदन आउने अवस्था आए परिस्थिति सामान्य होला।’

गत कात्तिक २८ गते बसेको सचिवालयको बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए। त्यसमा ओलीको कार्यशैलीको प्रशस्तै आलोचना गरिएको छ। मंसिर ३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डको आरोपको खण्डन गरेर आफूले पनि प्रस्ताव ल्याउन १० दिनको समय मागेका थिए। सोही अनुसार अर्को बैठक मंसिर १३ गतेका लागि तोकिएको छ।nepallive