April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सरकारविरुद्धको भ्रमपूर्ण प्रचारमा पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

सरकारविरुद्धको भ्रमपूर्ण प्रचारमा पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह गरेका छन्। ताप्लेजुङको फक्तालुङ गाउँपालिका ५ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाई भवनको सोमबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भनेर नकारात्मक सन्देश फैलाएको जनाउँदै यस्ता हल्लाको पछि नलाग्न आग्रह गरे।

Advertisement

सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै उनले देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए। ‘हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो’, प्रधानमन्त्री ओलीले भने।

उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको उल्लेख गर्दै छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको बताए। 

उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री ओलीले घुन्सामा नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन कार्यक्रममा गरेको सम्बोधनको पूर्णपाठ
यस कार्यक्रमका सभाध्यक्ष महोदय, मेरो भ्रमण टोलीमा संलग्न आदरणीय सुवासचन्द्र नेम्वाङज्यू, माननीय मन्त्रीज्यू, मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण साथीहरु र यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु !

आज यस अत्यन्तै दुर्गम ठाउँमा नै भनौ, ताप्लेजुङको यस घुन्सामा आउने मौका मिल्यो । धेरै मेहनत र कोशिस गरेर नै हामीले यो अवसर जुटायौं । यस ठाउँमा आइपुग्दा मलाई हिमाल चढ्न त गाह्रो छ, तर हिमाल देखिएको छ, यो देख्दा नै आनन्द लागेको छ । यो ठाउँ यत्तिको विकसित भएको पाउँदा मलाई एकदमै खुशी लाग्यो।

घुन्सा फाउन्डेशनका अध्यक्ष याङजोङ शेर्पाको पहलमा यो स्वास्थ्य चौकी पनि निर्माण भएको छ । बस्ने क्वार्टर पनि निर्माण भएको छ । अनलाइन क्लासहरु चलाउने भवन पनि निर्माण भएको छ । त्यसैगरी यहाँ विद्युत पनि आएको छ । खानेपानीको व्यवस्था पनि यहाँ भएको छ । संचार सुविधा आइसकेको छ। अनलाइन क्लास चल्नेसमेत स्थिति भएको छ।