April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जीवन बिमा कम्पनीले पालना गरेनन् लगानी निर्देशिका

जीवन बिमा कम्पनीले पालना गरेनन् लगानी निर्देशिका

काठमाडौं–बिमा समितिले एक वर्ष अगाडि जारी गरेको ‘बिमकको लगानी निर्देशिका २०७५’ जीवन बिमा कम्पनीहरुले उल्लंघन गरेका छन्। बिमा समितिले लगानीको दायरा फराकिलो बनाए पनि कम्पनीले पालना नगरेका हुन्। निर्देशिका अनुसार बिमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म लगानी गर्न पाउछन्। तर वाणिज्य बैंकमा बिमा कम्पनीहरुले ७३.२८ प्रतिशत लगानी गरेका छन्। त्यस्तै नेपाल पूर्वाधार विकास बैंकमा ०.१९ प्रतिशत लगानी गरेका छन्।

बिमा कम्पनीले नेपाल सरकारले जारी गरेका ऋणपत्रमा कम्तिमा पनि ५ प्रतिशत र वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशत लगानी गर्नै पर्छ। तर बिमा कम्पनीहरुले ऋणपत्र तथा बचतत्रमा ०.७३ प्रतिशत मात्रै लगानी गरेका छन्। समितिले लगानीको दायरा फराकिलो बनाउने क्रममा घरजग्गा, कृषि पर्यटन जलस्रोत लगायतका पूर्वाधारमा २० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको छ। तर यस्तो क्षेत्रमा एक वर्षसम्ममा २.६९ प्रतिशत मात्रै लगानी गरेका छन्।

Advertisement

वाणिज्य बैंकको मुद्दती निक्षेपलाई सबैभन्दा सुरक्षित लगानी मानिन्छ। यस्तो क्षेत्रमा गरिएको लगानीमा कुनै पनि जोखिम नहुने भएकाले बिमा कम्पनीहरु बैंकहरु सँग व्याजदरमा वार्गेनिङ गरिरहेका हुन्छन्। बैंकहरुको निक्षेपको बलियो स्रोतको रुपमा बिमा कम्पनीहरु पर्ने भएकाले बैंकहरुले पनि अरुलाई भन्दा बिमा कम्पनीलाई धेरै व्याजदर दिने गरेका छन्। गएका वर्षमा बिमा कम्पनीले तरलता अभावको फाइदा उठाउँदै व्याजदरमा कसेका थिए। अन्य क्षेत्रमा लगानी गर्न ठूलो व्यवस्थापन चाहिने भएकाले बिमा कम्पनीहरुले सजिलो बाटोको रुपमा बैंकको मुद्दती निक्षेपलाई रोज्ने गरेको बिमा विज्ञ रविन्द्र घिमिरे बताउछन्। 

बीमितबाट संकलन गरेको अर्बौ रुपैयाँलाई सुरक्षित रुपमा लगानी गर्नु पर्ने भएकाले नेपालका बिमा कम्पनी बैंकको निक्षेपकर्ताभन्दा माथि उठ्न नसकेका हुन्। अन्य देशमा बिमा कम्पनीले ठूला दीर्घकालीन पूर्वाधारमा लगानी गर्छन्। जापानमा बिमा कम्पनीले आवासीय क्षेत्रको निर्माण गर्ने गरेका छन्। हाउजिङ अपार्टमेन्टमा लगानी गरेर राम्रो मुनाफा आर्जन गरेका छन्। जापानको मोडल नेपालका लागि उपयुक्त नदेखिए पनि यहीको अवस्थालाई हेरेर लगानी गर्न सकिने विज्ञहरु बताउछन्। 

नेपालका बिमा कम्पनीहरु मिलेर कुनै पनि ठूला पूर्वाधारमा लगानी गर्न सक्षम रहेको घिमिरे बताउछन्। भारतमा बिमा कम्पनीले ठूला अपार्टमेन्ट निर्माण गरेर बिक्री गरेका धेरै उदाहरण छन्। नेपालमा पनि बिमा कम्पनीहरुले अपार्टमेन्ट तथा हाउजिङ निर्माण गरेर बिक्री गर्न सक्ने उनको सुझाव छ।

बिमा कम्पनीहरुले प्राथमिक शेयरमा मात्रै १० अर्ब रुपैयाँ लगानी गरेका छन्। शेयर बजारबाट उच्च लाभ लिन दोस्रो बजार तथा ऋणपत्रमा मात्रै २० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका हुन्। बिमा कम्पनीले अधिकतम २० प्रतिशतसम्म लगानी गर्न सक्छन्।  
१९ वटा जीवन बिमा कम्पनीमध्ये नेपाल लाइफले ३२ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ। बिमा समितिले घरजग्गामा लगानी गर्ने बाटो खुला भएसँगै नेपाल लाइफले मात्रै ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ। नेपाल लाइफबाहेक अन्य कम्पनीले यस्तो क्षेत्रमा लगानी गर्न सकेका छैनन्।  

बिमा कम्पनीको लगानीको पोर्टफोलियो