April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चक्रपथ विस्तार : मन्त्रीले एक महिनामा सक्न भनेका ४ काम डेढ महिनामा पनि सकिएन

चक्रपथ विस्तार : मन्त्रीले एक महिनामा सक्न भनेका ४ काम डेढ महिनामा पनि सकिएन

काठमाडौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ सुधार आयोजनाको दोस्रो चरणका कामलाई गति दिन असोज २५ गते निर्देशन दिए। आयोजना प्रमुखदेखि सडक विभाग तथा मन्त्रालयका सचिव सहितलाई राखेर निश्चित काम निश्चित समयभित्र सक्न निर्देशन दिएका थिए। तर मन्त्रीले दिएको निर्देशन अनुसार तोकिएको समयमा एउटामात्र काम सकिएको छ। 

मन्त्री नेम्वाङले असोज २५ गते ४ वटा निर्णय गर्दै कात्तिक मसान्तभित्र पोल स्थानान्तरण गर्ने, बसपार्कको आकाशे पुल हटाउने र स्वयम्भुको चैत्य हटाउन महानगरसँग समन्वय गर्ने उल्लेख थियो। तर मंसिर १० गतेसम्म नयाँ बसपार्कस्थित आकाशेपुल हटाउनेबाहेक अन्य काम भने हुन सकेको छैन।

Advertisement

त्यस्तै मन्त्रीले दिएको निर्देशनमा महाराजगञ्ज चोकमा रहेको जग्गा मुआब्जा विवाद पनि कात्तिक मसान्तमा मिलाइसक्ने भनिएको थियो। तर हालसम्म प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको मुआब्जा निर्धारण समितिमा उपसमितिले तयार पारेको प्रतिवेदन नै पेस भएको छैन। 

उपसमितिले प्रतिवेदन तयार पारिसकेको र यही समयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारिकको सरुवा भएकाले प्रतिवेदन पेश गर्न नसकिएको सडक विभागका इन्जिनियर अर्जुन सुवालले बताए। ‘उपसमितिले विवाद टुंग्याएर प्रतिवेदन तयार पारिसकेको छ,’ उनले भने, ‘सिडिओ साप परिवर्तन हुनुभएर समितिलाई प्रतिवेदन बुझाउन सकिएको छैन। प्रतिवेदन बुझाएर एक÷दुई पटक ब्रिफिङ गरेपछि त्यो समस्या समाधान हुन्छ।’ 

नेपाल विद्युत प्राधिकरणबाट विगतमा बिभिन्न बैठकमा भएका प्रतिबद्धताहरूअनुसार कार्तिक मसान्तभित्र सम्पूर्ण पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सम्पन्न गर्ने र ३ महिना (पुस मसान्त) भित्र अनिवार्य रुपमा कारखाना चोक र सानोभ¥याङस्थित हाइ भोल्टेज टावर स्थानान्तरण गर्ने भनिएको थियो। तर उक्त काममा समेत अपेक्षाकृत प्रगति भएको छैन। 

त्यसैगरी स्वयम्भूस्थित चैत्य कात्तिक मसान्तभित्र हटाउन काठमाडौं महानगरपालिकासँग समन्वय गर्ने र सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाबाट कात्तिक मसान्तभित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न गर्ने निर्णय भएको थियो। नयाँ बसपार्कको आकाशे पुल हटाइएको भए पनि स्वयम्भुको चैत्य हटाउने विषय टुंगिएको छैन। 

स्वयम्भुको चैत्य हटाउने विषयमा वडा कार्यालय, महानगर तथा आयोजनाबीच व्यवस्थापन गर्ने सम्बन्धमा निर्णयको चरणमा रहेको आयोजनाले जनाएको छ। महाराजगञ्जको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन गरि त्यहाँको संरचना भत्काएर साइट क्लियर गर्नुपर्ने छ।

चीन सरकारको सहयोगमा काठमाडौंको चक्रपथ विस्तार भइरहेको छ। पहिलो चरणमा कोटेश्वरदेखि कलंकी खण्डको विस्तार भइसकेको छ भने दोस्रो खण्डको रुपमा कलंकी धोवीखोला विस्तार हुने क्रममा रहेको छ। कोरोना महामारीका कारण भएको लकडाउनले निर्माण कार्य केही महिना पर धकेलिएको हो।nepallive