May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गौतम र थापालाई आफ्नो पक्षमा पार्ने कसरतमा ओली–प्रचण्ड

गौतम र थापालाई आफ्नो पक्षमा पार्ने कसरतमा ओली–प्रचण्ड

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा‘ बादल’ लाई आ–आफ्नो पक्षमा पार्न केन्द्रित भएका छन्। गौतम र थापाको समीकरण फेरबदलले ठूलो अर्थ राख्ने भएकाले दुई अध्यक्षको नजर उनीहरुतिर केन्द्रित भएको हो। 

सचिवालयको बहुमतले स्थायी कमिटी र केन्द्रीय कमिटी हुँदै संसदमा समेत असर पर्ने भएकाले उनीहरुलाई आफ्नो पक्षमा पार्न ओली–प्रचण्डले मिहिनेत गरेका हुन्। ओलीविरुद्धको मोर्चाबन्दीमा रहेका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नेताहरु यसपटकको विवादलाई वार कि पार गरेरै छाड्ने मनस्थितिमा पुगेका छन्। 

Advertisement

पूर्व माओवादी नेताहरुसँगको भेटमा समेत प्रचण्डले आफूले ओलीसँग लचिलो व्यवहार देखाउँदा कमजोरीको रुपमा लिएर पेल्ने गरेको भन्दै यसपटक सम्झौता नगर्ने बताउने गरेका छन्। ‘पार्टीमा ओलीसँग धेरै सम्झौता गरेँ। धेरै अपमान सहेको छु। अब सम्झौता गर्ने पक्षमा छैन’, प्रचण्डलाई उद्दृत गर्दै उनीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘अब तपाईहरु क–कसले साथ दिनुहुन्छ भनेर पनि हेर्दिनँ, अगाडि बढ्दै जाने हो, जस्तो परिस्थिति आउँछ भिड्दै जाने हो।’

पार्टी विभाजन नगरी पार्टी कमिटीकै निर्णयबाट ओलीलाई सके पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट, नभए एकबाट हटाउने तयारीमा प्रचण्ड–नेपाल पक्ष रहेको एक सचिवालय सदस्यले बताए। ‘पार्टी कमिटीले निर्णय गर्दै जाने, पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले उल्लंघन गर्दै जाने प्रवृत्तिले अब नेकपा चल्दैन,’ ती सचिवालय सदस्यले भने, ‘अब केपी कमरेडलाई सके दुई पद, नभए एक पदबाट राजीनामा गराउनुपर्छ। अब सम्झौता गरेर टालटुल पारेर मात्रै पार्टी चल्दैन ।’

अहिले सचिवालयमा प्रचण्डसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै छन् भने उता अध्यक्ष ओलीसहित इश्वर पोखरेल, महासचिव विष्णु पौडेल र रामबहादुर थापा मात्रै छन्। सचिवालयका ९ जनामध्ये प्रचण्डतिर पाँच र ओलीतिर चार जना छन् । सचिवालयमा भएका मध्ये समीकरणमा यताउता गराउन सकिनेमा गौतम र थापामात्रै हुन्। थापाले गृहमन्त्रीको समेत जिम्मेवारीमा भएकाले आफू ओलीसँग देखिनु बाध्यता भएको भन्दै प्रचण्डलाई थामथुम पारिरहेका छन्।

उता ओलीलाई लामो समय प्रचण्डसँगै भएकाले थापा फेरि उतै जान्छन् कि भन्ने आशंका छ। जे जस्तो भए पनि प्रचण्डले बोलाएको गुटको भेलामा थापा उपस्थित नभएकाले उनीलाई शंका गर्ने ठाउँ दिएका छैनन् । तर, पूर्व माओवादी समूहका नेताहरु भने पार्टीमा वारपार गर्नुपर्ने अवस्था आए थापाले प्रचण्डलाई साथ दिने अपेक्षामा छन्। पार्टीमा अन्तिम निर्णय गुर्नपर्ने अवस्था आए प्रचण्डलाई साथ दिने भन्दै थापाले पटक–पटक विश्वास दिलाउने गरेको प्रचण्डनिकट एक नेताले बताए।   

गौतमलाई आफ्नो पक्षमा पार्न ओली कहिले आफैं उनको निवास भैंसेपाटी पुग्ने गरेका छन् भने कहिले फकाउन आफ्ना दूत पठाउने गरेका छन्। यसअघिको सचिवालय बैठकको अघिल्लो दिन उपप्रधानमन्त्री इश्वर पोखरेल उनकै निवास भैंसेपाटी पुगेका थिए। उनलाई आफ्नो क्याम्पमा ल्याउन पोखरेलले लामै छलफल चलाएको गौतमनिकट स्रोतले जानकारी दिएको छ। तर गौतमलाई आप्mनो पक्षमा ल्याउने ओलीको निरन्तरको प्रयास असफल भइरहेको छ। यद्यपि गौतमले यस पटकको पार्टी विवादमा ओलीलाई साथ दिन नसकिने जनाउँ दिईसकेका छन्। 

पार्टी कमिटीका निर्णयमा ओलीले सहमत जनाउने र कार्यान्वयन उल्लंघन गर्दै जाने गरेकाले आफूले साथ दिन नसक्ने गौतमले बताइसकेका छन्। पछिल्लो समय प्रचण्डले बोलाएको भेलामा भने गौतम निरन्तर उपस्थित भईरहेका छन्। गौतमका विषयमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष यसअघिको भन्दा बढी ढुक्क देखिएका छन्।nepallive