April 27, 2024, Saturday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ, तर मिति टुङ्गो लागेको छैन

कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ, तर मिति टुङ्गो लागेको छैन

काठमाण्डाै – कोरोना भाइरस विरुद्धको खोप ल्याउनका लागि आवश्यक पूर्वतयारी भइरहेको छ ।  कानुनी व्यवधान नहोस् भनेर सरकारले औषधि ऐन २०३५ लाई अध्यादेशमार्फत् संशोधन गरेको छ ।

आर्थिक समस्या नहोस् भनेर झण्डै ४८ अर्ब रुपैयाँको बजेट सुनिश्चित गरिएको छ । खोपको प्रकृति अनुसार चिस्यान भण्डारणहरुको तयारी गरिएको छ । खोप आइसकेपछि क-कस्लाई दिने भनेर जोखिम समूहहरु वर्गीकरण गर्ने र त्यसको स्वीकृत गर्ने तयारी भइरहेको छ ।  

Advertisement

खोप ल्याउनका लागि निश्चित प्रक्रियाहरु अपनाउनुपर्छ । पहिला त खोपको अन्तिम मूल्याङ्कन आउनुपर्यो । त्यो आएपछि उत्पादन भएको देशमा खोपहरु दर्ता हुनुपर्यो । विश्व स्वास्थ्य संगठनले सूचीकृत गर्नुपर्यो । अथवा आकस्मिक प्रयोगका लागि सूचीकृत गर्नुपर्यो । हाम्रो औषधि विभागमा पनि  दर्ता हुनुपर्छ । त्यसपछि मात्र हामीले खोप प्रयोग गर्न पाउँछौँ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनेसम्मको तयारीका लागि विभिन्न ८ उपसमितिसमेत बनाएको छ । विश्व स्वास्थ्य संगठनले संयोजन गरेको ‘कोभ्याक्स सुविधा’ संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याउन तयारी भइरहेको छ । 

अझै खोप परीक्षणकै क्रममा रहेका छन् ।  कुन खोप ल्याउने भन्ने निश्चित भइसकेको छैन ।  सुरुमा २० प्रतिशत नागरिकलाई खोप ल्याएपछि बिस्तारै सबैलाई पुग्नेगरी खोप ल्याउने हो  । कोभ्याक्स अन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । जोखिमका आधारमा खोप पहिला कसलाई दिने भन्ने चरणहरु छुट्याइन्छ ।  अरु खोप पनि कोभ्याक्स सुविधामार्फत र अन्य तरिकाले किन्ने तयारी छ ।   

मुख्य कुरा त कुनै पनि खोप अहिले सार्वजनिक प्रयोजनका लागि भनेर सूचीकृत भइसकेको छैन । बेलायतको फाइजर कम्पनीले मात्र स्वीकृत गरेर आफ्ना स्वास्थ्यकर्मीहरुलाई र जेष्ठ नागरिकलाई लगाउने तयारी गरेको हो । अरु खोपहरुको अन्तिम नतिजा आइसकेको छैन ।  त्यही भएर यही मिति खोप आउँछ भनेर भन्न सक्ने अवस्था छैन । 

नेपालमा खोप आइसकेपछि चरणवद्ध रुपमा दिइन्छ ।  तह निर्धारणका लागि पूर्व तयारीहरु भइरहेका छन् । बन्दै गरेका खोपहरु विभिन्न तापक्रममा राख्नुपर्ने खालका छन् । २ देखि ८ डिग्री सेल्सियसमा राख्नुपर्ने खोपहरु पनि बनिरहेका छन् । माइनस २० डिग्री सेल्सियस र  माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने खोप पनि बनिरहेका छन् । त्यसकारण कुन खोप आउने हो निश्चित भइसकेको छैन ।  हामी त्यही अनुसारको पूर्व तयारीमा छौँ । 
(स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. गौतमसँगको कुराकानीमा आधारित)