April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेफिन यूकेद्धारा स्वयम्भू क्षेत्रको अतिक्रमणको विरोध

नेफिन यूकेद्धारा स्वयम्भू क्षेत्रको अतिक्रमणको विरोध

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले नेपाल सरकारलाई काठमाडौंको चक्रपथ बिस्तारको क्रममा विश्व सम्पदामा सुचिकृत स्वयम्भुनाथ क्षेत्रमा बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको सिमा स्तम्भ र त्यसभित्र रहेको हातले घुमाउने माने र हजार बुद्धको मुर्ति सहितको स्तुपा (साङ्गे तोङकु) समेत भत्काउन गरेको निर्णय प्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

गत डिसेम्बर ८ मा जारी महासंघ यूकेको प्रेस विज्ञप्तिमा भनिएको छ – “शान्तिको अग्रदुत गौतम बुद्ध जन्मेको देशमै राज्यबाट हुने यस प्रकारको गैरजिम्मेवार निर्णयबाट सम्पूर्ण बौद्द धर्मावलम्वीहरुको मात्र नभएर नेपाल, बेलायत र विश्वभर छरिएर रहेका हामी समस्त ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाप्रेमी नेपाली आदिवासी जनजातिहरुको भावनामा गम्भीर चोट पुग्न गएको छ ।”

Advertisement

Press Release of NEFIN UK

शेर्पा संघ बेलायत र तामाङ सोसायटी अफ यूके लगायत दश वटा जातीय संस्थाहरुको साझा संस्था महासंघले मुलुकमा सबै धर्मका अनुयायीहरुको अभिभावक बन्दै धार्मिक–ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नु पर्नेमा सरकार उल्टो गैरजिम्मेवार ढंगले यसरी अघि बढेको भन्दै विश्व सम्पदा सूचीमा समेत सूचिकृत ऐतिहासिक, धार्मिक सम्पदालाई बचाउन अन्य विकल्पको खोजी गर्न सम्बन्धित निकायलाई हार्दिक अनुरोध गरेको छ ।

विज्ञप्तिको अन्तमा नेफिन यूकेले सरकारलाई यदि उसले जनभावनाको बेवास्ता गर्ने र उक्त निर्णयलाई सच्याउन नचाहे हाल नेपाल, बेलायत र विश्वभरबाट यस निर्णयको बिरुद्द जारी अभियानलाई सक्दो रुपमा सहयोग गर्ने चेतावनी दिएको छ ।