May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हिँउ चितुवा जोगाउन पशु बीमा

हिँउ चितुवा जोगाउन पशु बीमा

डोल्पा – दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउनका लागि पशु बीमा कार्यक्रम लागू गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बीमा कार्यक्रम लागू गरिएको हो ।

निकुञ्ज क्षेत्रमा पाइने हिँउ चितुवा, ब्वाँसोलगायत वन्यजन्तुबाट घरपालुवा जनावरमा हुने क्षति न्यूनीकरण गर्दै कृषकको हिँउ चितुवाप्रतिको प्रतिशोध घटाई संरक्षण गर्न बीमा कार्यक्रम लागू गरिएको निकुञ्जले जनाएको छ । आयआर्जनको प्रमुख आधार भनेकै पशुपालन व्यवसाय भएकाले स्थानीय कृषकमा पशु बीमासम्बन्धी स्पष्ट धारणा बसाल्न सदरमुकाम दुनैमा कृषकलाई बोलाएर चारदिने तालीमसमेत दिइएको छ । शे–फोक्सुण्डो निकुञ्ज दुर्लभ वन्यजन्तु हिउँ चितुवाको प्रमुख बासस्थान भएकाले यसलाई जोगाउन पहिलोपटक बीमा कार्यक्रम लागू गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो ।

Advertisement

कृषकले व्यावसायिकरुपमा पालन गरेका याक, चाँैरी, भेडा, च्याङ्ग्रालगायतका घरपालुवा जनावर वन्यजन्तुले क्षति पु¥याएमा आक्रोशित भएर दुर्लभ वन्यजन्तुलाई नमारुन् भन्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको निकुञ्जको भनाइ छ । पशु बीमा योजनाको खर्च स्थानीय समुदायको प्रिमियम र विश्व वन्यजन्तु कोषबाट प्रदान गरिएको अक्षयकोषको ब्याज रकमबाट जम्मा गरिने बताइएको छ । यसले वन्यजन्तुबाट हुने पशुधनको क्षतिलाई राहत प्रदान गर्न सहयोग पुग्ने कोषका कर्मचारी गौतम पौडेलले बताउनुभयो ।

कोषको अनुदान सहयोगमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित हिँउ चितुवा तथा आहारा प्रजाति संरक्षण कार्यक्रमअन्तर्गत मुगुको डोल्फुमा रु १० लाखको पशु बीमा योजना कार्यक्रम सञ्चालन हुन लागेको उहाँले जानकारी दिनुभयो ।