May 6, 2024, Monday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काँचुली फेर्दैछ वीरेन्द्र सभागृहले

काँचुली फेर्दैछ वीरेन्द्र सभागृहले

विराटनगर – विराटनगर महानगरपालिका क्षेत्रभित्रमा रहेको एक मात्र सभागृह वीरेन्द्र सभागृहको प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण हुने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको र आगामी १८ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गरिसक्ने कार्यक्रम छ ।

सभागृहको विषयमा जनचासो बढ्न थालेपछि विराटनगर महानगरपालिकाले साविकको स्वरुप नबिगारी आवश्यक मर्मतसम्भार एवं निर्माणको प्रक्रियालाई अघि बढाएको छ । कुनै बेला विराटनगरका सबैभन्दा राम्रो यो सभागृह अहिले प्रयोग गर्न नमिल्ने अवस्थामा छ । शहरी विकास तथा योजना महाशाखाका प्रमुख अर्जुन थापाले सभागृहको पुराना संरचनालाई नबिगारी अहिलेको आधुनिक प्रविधिहरु जडान गरी नयाँ संरचना बनाइने जानकारी दिनुभयो ।

Advertisement

सभागृहको प्रबलीकरणका लागि करीब रु २७ करोड खर्च लाग्ने अनुमान गरिएकामा नगर विकास कोषले रु १२ करोड छुट्याएको छ भने प्रदेश सरकारले रु दुई करोड खर्च गर्ने भएको छ । भवनमा लाग्ने अन्य खर्च महानगरपालिकाबाट नै व्यवस्थापन गरिने नक्सा प्रमुख थापाले जानकारी दिनुभयो । पटकपटक भूकम्पको क्षति व्यहोरिसकेको यो भवन पञ्चायतकालमै बनेको थियो । विभिन्न सभा समारोहका लागि उपयुक्त यस भवनलाई आधुनिकीकरण गर्नुपर्ने तथा समयसापेक्ष वातानुकूलित गर्नुपर्ने माग हुँदै आएको थियो ।

सभागृहलाई आकर्षक बनाउन आधुनिक प्रविधिहरु जडान गरिने र सो भवनमा भिआइपी कक्षका साथै मिडिया क्याबिनेटको व्यवस्था गरिनेछ । अब यसमा करीब ४०० मानिस सजिलै अट्न सक्ने बनाइने भएको छ ।