May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजेसम्मका लागि स्थगित

संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजेसम्मका लागि स्थगित

काठमाडौँ- संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बेलुका ५ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको उहाँका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । बिहान प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

Advertisement

बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपूरक संख्या पुगेन  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै छलफल नै नगरि बैठक बोलाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनु भएको उहाँका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताउनुभयो ।

संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्ने जस्तो विषयमा छलफल गर्न कुनै तयारी नगरि बैठक बोलाएकाले सभामुख सापकोटा अनुपस्थित हुनु भएको न्यौपानेले बताउनुभयो । बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित हुनु भएको थियो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ । उपसभामुख नरहेको र सभामुख सापकोटा बैठकमा नगएपछि गणपूरक संख्या पुग्न नसकेको हो ।

तयारी नपुगेर अनुपस्थित भएको बताइए पनि नेकपाभित्रको  विवादका कारण सभामुख सापकोटा बैठकमा नजानु भएको आशंका गरिएको छ ।