April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली सडकमा भारतीय सवारीको रजाइँ, किन मौन छन् सरोकार पक्ष

नेपाली सडकमा भारतीय सवारीको रजाइँ, किन मौन छन् सरोकार पक्ष

सर्लाही – जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ ।

भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ । भारतीय सवारी साधनले भन्सारसमेत नबुझाई नेपाली सडकमा खुलेआम बर्चश्व जमाइरहेको पाइएको छ ।

Advertisement

भारतीय सवारी साधन सडकमा बर्चश्व जमाइरहेको भए पनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीय सर्वसाधारणको आरोप छ । जिल्ला भन्सार कार्यालय सिमानामै रहेको भएको भए पनि भन्सारका कर्मचारी असुलीमा व्यस्त रहेका कारण पनि भारतीय सवारी साधनको दादागिरी चलेको स्थानीय व्यापारी राजीव सिंहले बताउनुभयो । सिमानामा २४सै घण्टा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि यस्ता सवारी साधनलाई ध्यान नदिँदा नेपाल प्रवेश गरेपछि भारतीय सवारी साधनको दादागिरी नेपाली बजारमा बढ्ने गरेको छ ।

बिना रोकटोक नेपाल प्रवेश गरेका भारतीय सवारीको प्रयोगले नेपाली भूमिमा आपराधिक गतिविधि हुनुका साथै तीव्रगतिमा सञ्चालन हुने यस्ता सवारी साधनका कारण दुर्घटनासमेत बढेको र बेथिति बढ्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताउनुभयो । भारतीय सवारी साधनको प्रयोग, आपराधिक गतिविधि र दुर्घटनाका साथै बेथितिको विषयमा जिल्लामा सुरक्षा संयन्त्रको छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो ।

जिल्ला सुरक्षा संयन्त्रको छलफलबाट जिल्लामा सञ्चालन हुने भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन, भारतीय सवारी साधनको प्रयोगलाई नियमन गर्नेलगायतका काम हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षा, आपराधिक गतिविधि र दुर्घटनाका साथै बेथितिको अन्त्यका लागि अनधिकृत रूपमा सञ्चालित सवारीको नियमन गरिने प्रजिअ पौडेलले बताउनुभयो ।

सरकारको आर्थिक प्रतिवेदनमा भारतीय सवारी साधनलाई आवश्यक भन्सार तिरेपछि एक महिनाका लागि नेपालभर सञ्चालन गर्न पाउने व्यवस्था भए पनि प्रदेश नं २ का अधिकांश नागरिकको घरघरमै भारतीय नम्बरका सवारी साधन रहेको पाइएको छ । प्रदेश नं २ का अधिकांश नागरिकको छिमेकी देश भारतसँग कुनै न कुनै रूपमा सम्बन्ध रहेको र उतैबाट खरिद गरी नेपालमा ल्याएर निर्वाधरूपमा सञ्चालन गर्ने गरिएको छ ।

भारतबाट भित्रिने भारतीय सवारी साधनको भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयसँग कुनै तथ्याङ्क वा विवरण नहुँदा दुर्घटना हुँदासमेत भारतीय सवारी साधन फरार हुने र प्रहरीले फेला पार्न नसक्ने अवस्था रहेको भन्दै जिल्लावासीले गुनासो गर्ने गरेका छन् ।

यसरी नियमविपरीत सञ्चालित भारतीय सवारी साधनलाई कानूनबमोजिम कारवाही हुनुपर्ने स्थानीयवासीको माग छ ।