April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पेशाबाट पलायन हुँदै इलामका पत्रकार

पेशाबाट पलायन हुँदै इलामका पत्रकार

मङ्गलबारे – नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा हुनुहुन्न । हाल उहाँ मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत हुनुहुन्छ ।

करिब दुई दशक लामो पत्रकारिता पेशा उहाँले परिवर्तन गर्नुभएको हो । लामो समयसम्म अन्नपूर्ण पोष्टसँग आबद्ध भएर उहाँले जिल्लामा रही पत्रकारिता गर्नुभयो । उहाँले जिल्लामा नै पहिलो दैनिक पत्रिकासमेत सञ्चालन गर्नुभयो । तर पत्रकारितामा भविष्य नदेखेर उहाँले यो पेशा छोडेको बताउनुहुन्छ । उहाँसहित उहाँकी श्रीमतीले पनि पत्रकारिता पेशा छोड्नुभएको हो ।

Advertisement

उहाँकी श्रीमती कमला भट्टराई पनि काठमाडौँबाट प्रकाशन हुने नेपाल समाचारपत्रसँगै जिल्लाकै पहिलो दैनिक पत्रिका सन्दकपुरमा कार्यरत हुनुहुन्थ्यो । तर उहाँहरु दुवै जना हाल फरक काम गर्न थाल्नुभएको छ । कमला हाल सूर्योदय नगरपालिकामा काम गर्न थाल्नुभएको छ । विसं २०६५ बाट प्रकाशति जिल्लाकै पहिलो दैनिक पत्रिका बन्द गरेर उहाँहरु फरक पेशामा लाग्नुभएको छ । पत्रकारिता धेरै व्यस्त हुने पेशा हो तर उहाँहरुको दैनिकी त्योभन्दा कम व्यस्त छैन अहिले । “पहिलेभन्दा धेरै ब्यस्त भइएको छ”, रोहितचन्द्र भट्टराईले भन्नुभयो । मालपोत कार्यालय इलाममा सेवाग्राहीका लागि उहाँ खट्नुहुन्छ । उहाँलाई पत्रकारिता पेशाप्रति भने सम्मान छ ।

गाउँगाउँमा गएर रिपोर्टिङ गर्दा आनन्द हुने भए पनि पैसा बचाउन नसक्दा भने घर चलाउन नै समस्या हुने गरेको कमला भट्टराईले बताउनुभयो । पत्रकार महासङ्घकै पूर्वअध्यक्ष उमेश गुरुङ पनि हाल समाजसेवा र यससँगै राजनीतिमा लाग्नुभएको छ । उहाँ रेडियो नेपालमा आबद्ध भएर लामो समय काम गर्नुभएको थियो । जिल्लाको इलाम एफएममा समेत कुशल प्रस्तोताका रुपमा ख्याती कमाउनुभएका उहाँले हाल सञ्चारमाध्यमको जागिरलाई चटक्कै माया मारेर गाउँमा समाजसेवा तथा राजनीतिकर्मीका रुपमा आफूलाई व्यस्त राख्नुभएको छ । धिरेन चेम्जोङ पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँसमेत जिल्लाका विभिन्न साप्ताहिकसँगै चियाबारी दैनिकको प्रधान सम्पादक समेत रहेर काम गर्नुभयो । उहाँ पनि हाल राजनीतिमा नै क्रियाशील हुनुहुन्छ । इलामकै अर्का पत्रकार विमल वैद्य नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य हुनुभयो । तर उहाँ पनि हाल पत्रकारितामा सक्रिय हुनुहुन्न ।

जिल्लाको शुभप्रभात साप्ताहिकदेखि विभिन्न पत्रिकामा काम गरे पनि उहाँ हाल सदरमुकाममा व्यवसाय सञ्चालन गरिरहनुभएको छ । साहित्य लेखनमा सक्रिय उहाँको अहिलेको पेशा भने पत्रकारिता होइन । नेपाल टेलिभिजनका पूर्वजिल्ला समाचारदाता प्रभाकर प्रधान हाल व्यवसायमा क्रियाशील हुनुहुन्छ । उहाँ जस्तै नुतन रञ्जितकार, मोहनमान श्रेष्ठ पनि हाल पत्रकारिताभन्दा पनि व्यवसायमा नै आफ्नो सबै समय खर्चिनुहुन्छ ।

महासङ्घका सदस्य भएर पनि मदन कुमार खड्का र उत्तम पौडेल जिल्लामा अधिवक्तारुपमा नै आफ्नो पेशा स्थापित गरिसक्नुभएको छ । होम ढकाल सीमावर्ती क्षेत्रका कार्यरत संस्था माइती नेपालमा आबद्ध हुनुहुन्छ ।