April 28, 2024, Sunday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा

कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा

रामपुर – राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालुढङ्गादेखि पाल्पाको पिपलडाँडा खण्डसम्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिडोरअन्तर्गत बागलुङको मालढुङ्गादेखि गैँडाकोटसम्मको सडकखण्डमध्ये पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाअन्तर्गत यम्घाको मन्द्रानमा ५०० मिटर सडकको ट्र्याक खुल्ने बाहेक सबै काम अन्तिम चरणमा पुगेको हो ।

यस खण्डमा कडा चट्टाने पहाड भएकाले सामान्य मेसिन र प्रविधिले चट्टान फुटाउन नसक्दा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले त्यसको आवश्यक प्रक्रिया अगाडि बढेको कार्यालयले जनाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पाल्पामा ३० किलोमिटर सडक पर्दछ । राम्दीदेखि मालढुङ्गासम्मको ५०० किलोमिटर सडकको ट्र्याक खोल्ने कामअन्तर्गत पाल्पाको रानीमहल रिडी, दैलातुङ रानीमहल, राम्दी दैलातुङ सडकखण्डमा ठेक्का सम्झौता भए पनि चट्टाने पहाड भएकाले काम गर्न समस्या परेको हो ।

Advertisement

ट्र्याक खोल्न बाँकी रहेको ५०० मिटर क्षेत्रमा कडा खालको चट्टाने भाग रहेको क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी फुटाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय पाल्पासँग समन्वय गरेर काम गर्न कार्यालयलाई पत्राचार गरिएको आयोजनाका प्रमुख सुवोधकुमार देवकोटाले बताउनुभयो । भारतीय कम्पनीको जिम्मेवारीमा रहेको पाल्पा जिल्लाको राम्दी, गैँडाकोट खण्ड १३१ किलोमिटरमध्ये १२ किलोमिटरमा कालोपत्र भइसकेको छ ।

हालसम्म यस सडक खण्डमा रु आठ अर्ब ४५ करोडमध्ये नेपाल सरकारबाट रु दुई अर्ब ९३ करोडको ठेक्का सम्झौता भएको र रु दुई अर्ब ५२ करोड रकम खर्च भइसकेको आयोजनाले जनाएको छ । यस सडक खण्डमा गत कात्तिक मसान्तसम्ममा नेपाल भारत सरकारको गरी रु चार अर्ब ३१ करोड खर्च भइसकेको करिडोर कार्यालयका प्रमुख देवकोटाले बताउनुभयो । नेपाल सरकारसँगको सम्झौता अनुरुप भारतको एक्जीम बैंक ऋण सहयोगमा भारतीय निर्माण कम्पनीले रु साढे पाँच अर्बको लागतमा पाल्पाको राम्दीदेखि गैँडाकोटसम्मको १३० किलोमिटर सडकको ट्र्याक खोल्ने, ग्राभेल गर्ने, कालोपत्र गर्ने कार्य तीव्रगतिमा अगाडि बढेको छ ।

यसैगरी नेपाली सेनाले निर्माणको जिम्मा पाएको रिडीदेखि बागलुङ खण्डमा कालोपत्र गर्ने कार्य बाँकी रहेको छ । बागलुङको मालढुङ्गासम्म २४५ किलोमिटर र स्याङ्जाको मिर्मी, पर्वतको अमर्दीसम्म ट्र्याक खुलिसकेको छ ।