April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालको पछिल्लो राजनीतिक घटनाको एउटै कारण एकल नश्लवादी चिन्तन: नेफिन यूके

नेपालको पछिल्लो राजनीतिक घटनाको एउटै कारण एकल नश्लवादी चिन्तन: नेफिन यूके

लण्डन: नेपालको पछिल्लो राजनीतिक परिस्थितिको विषयमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । नेफिन युकेले नेपालमा प्रधानमन्त्री खड्क प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र त्यसबाट विकसित राजनैतिक परिस्थितिहरुको नजिकबाट अवलोकन गरेको साथै पछिल्लो राजनैतिक घटनाहरु र त्यसबाट विकसित समस्याहरुको जड एकल नश्लवादीय चिन्तन र व्यवहार नै भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रधानमन्त्री ओलीको वर्तमान सरकारले प्रतिगामी संविधानमाथि थप प्रतिगमनकारी कदम गर्नुमा अन्य यथास्थितिवादी, प्रतिगामी राजनीतिक दलहरू तथा देशी–विदेशी शक्तिहरु समेत जिम्मेवार भएको भन्दै नेफिन युकेले सार्वजनिक गरेको विज्ञप्तिमा संविधानवाद, समावेशी लोकतन्त्र, आदिवासीहरुको आधारभूत मूल्य र मान्यताहरूको विरूद्ध चालिएको अलोकतान्त्रिक र शासकीय स्वेच्छाचारी कदमको घोर विरोध गर्ने जनाएको छ ।

Advertisement

२०६२–६३ को ऐतिहासिक जनआन्दोलन, १० वर्षे सशस्त्र युद्ध, आदिवासी जनजाति आन्दोलन, मधेस विद्रोह, दलित, मुस्लिम, महिला, अपाङ्ग, यौनिक तथा लैंगिक अल्पसंख्यकहरु लगायत विभिन्न पहिजानजनित आन्दोलनहरूको जगमा संविधान निर्माण हुँदाहुँदै आदिवासी जनजातिहरु लगायत सदिऔँदेखि बहिष्कृत–सीमान्तकृत वर्ग, समुदायको पहिचान र अधिकारसँग सम्बन्धित मूलभूत मुद्दाहरू सम्बोधन हुन नसकेको यथार्थ स्मरण गराउदै नेफिन यूकेले जारी गरेको विज्ञप्तिमा संविधानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता सवालहरू समेटिएकोले ती मुद्दाहरूलाई समेत बचाउनुपर्ने राजनीतिक परिस्थिति निर्माण भएको जनाएको छ ।

नेफिन यूके अध्यक्ष जंग सुनुवारद्वारा हस्ताक्षरीत विज्ञप्तिमा लोकतान्त्रिक पद्दति र नागरिकहरूको वैयक्तिक र सामुहिक हक, अधिकार, स्वतन्त्रता हनन् गर्ने कुनै पनि पक्षबाट हुने हमला र हस्तक्षेप स्विकार्य नहुने र त्यसो भएमा तत्काल समावेशी लोकतान्त्रिक सिद्धान्त र विधिबाट वर्तमान सङ्कटलाई सम्बोधन गर्न गराउन सरकार, राजनीतिक दललगायत सम्पूर्ण जिम्मेवार निकायहरूलाई अनुरोध गर्ने जनाइएको छ ।