भूतपूर्व सैनिक सम्मेलन पुनः शुरु हुँदै
काठमाडौँ – मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिमपछि स्थगन भएको भूतपूर्व सैनिक सम्मेलन यही माघको अन्तिम साताबाट शुरु हुँदैछ । कोभिड–१९ काकारण कार्यशैली परिमार्जन गर्दै सेनाको पश्चिम पृतनामा मुख्य शिविर र मातहतका जिल्लामा बसोबास गर्ने भूपू सैनिकका लागि सम्बन्धित जिल्लामा सहायक शिविर खडा गरी सम्मेलनको आयोजना गरिँदैछ ।
शिविर खडा भएका प्रत्येक केन्द्रमा १००÷१०० को सहभागिता हुने गरी सम्मेलन तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । नंम्वर ३ बाहिनी अड्डा, तनहुँ, कालीभञ्जन गण (ई) तनहुँ, नं ३ जगदल गण तनहुँ, भगवतीदल गण कास्की, श्रीजङ्ग गण लमजुङ, रणसिंहदल गण, सुरक्षा गुल्म गोरखा, दुर्गाभञ्जन गुल्म स्याङ्जा, नं २३ बाहिनी अड्डा र अर्जुनबाँण गण (संयुक्त रुपमा) बागलुङ र मुस्ताङ, केवलजङ्ग गुल्म पर्वत, श्रीबक्स गुल्म म्याग्दीमा सम्मेलनको सहायक शिविर रहने छ । कोरोना सङ्क्रमण जोखिमको पाटोलाई हेक्कामा राखी सेनाले यस पटक भूपूको समानुपातिक र समावेशी प्रतिनिधिमूलक उपस्थितिमा सम्मेलन गर्न लागेको हो । तेस्रो चरणको पहिलो वर्षमा चार र दोस्रो वर्षमा तीन वटा प्रदेशमा गर्ने लक्ष्य राखेकोमा पहिलो वर्ष अर्थात् २०७६÷७७ मा गण्डकी बाहेक अरु प्रदेशमा सम्मेलन सम्पन्न भएका थिए ।
गण्डकी प्रदेशमा भने कोभिड–१९ कारण सम्मेलन स्थगित गर्न परेको थियो । सेनाका अनुसार, बाँकी वाग्मती, प्रदेश नं २ र प्रदेश नम्बर १ मा पनि आगामी चैत महिनाभित्रै सम्मेलन हुनेछ । जीवनको ऊर्जाशील समय सैनिक सेवामा बिताएका भूपू सैनिकले उक्त सम्मेलन सहकर्मी पल्टनीयाबीच भेटघाट, सुख–दुःख साटासाट र सङ्गठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण पर्वका रुपमा मनाउँछन् ।
सम्मेलनको मुख्य नारा “शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार” भन्नेछ । सम्मेलनलाई हिताधिकारीको सेवा सुविधा विस्तार र घोषणा गरिएका कार्यक्रमको समीक्षा गर्ने अवसरका रुपमा सेनाले लिने गरेको छ । हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या करीब ८५ हजार छ ।



प्रतिकृया दिनुहोस्