April 21, 2024, Sunday
२०८१ बैशाख ९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कम्युनिस्टहरुको आन्तरिक लडाईंमा रेफ्री नबनिदिन एनआरएनए यूके अध्यक्षलाई प्रवासी नेपाली एकता मञ्च यूकेको आग्रह

कम्युनिस्टहरुको आन्तरिक लडाईंमा रेफ्री नबनिदिन एनआरएनए यूके अध्यक्षलाई प्रवासी नेपाली एकता मञ्च यूकेको आग्रह

लण्डन – प्रवासी नेपाली एकता मञ्च (ओएनयुएफ) यूकेले एनआरएनए यूके अध्यक्ष श्रीमती पूनम गुरुङलाई कम्युनिस्टहरुको आन्तरिक खिचातानीमा आकर्षित नहुन आग्रह गरेको छ । मञ्चद्धारा गत शनीबार आयोजित एक पत्रकार सम्मेलन मार्फत अध्यक्ष राजेन्द्र पुडासैनीले उक्त आग्रह गरेका हुन् ।

नेपालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै बिभाजन हुने तयारीहरु भइरहँदा प्रवासमा रहेका यसका कतिपय संगठनहरु भने औपचारिक रुपमै बिभाजित अवस्थामा देखिएका छन् । यसै क्रममा बेलायतस्थित नेकपाका एक कार्यकर्ता भक्त गुरुङले केपी ओली समर्थित सदस्यहरुको एउटा छुट्टै संगठन बनाएपछि प्रवासी नेपाली मञ्च यूकेले कुन् चाहिं वास्तविक मञ्च हो भन्ने बारेमा जानकारी दिन उक्त पत्रकार सम्मेलन गरेको हो ।

Advertisement

पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष राजेन्द्र पडासैनीले भक्त गुरुङद्धारा हालै गठित समूह अवैध भन्दै उक्त अवैधानिक कार्यमा संलग्न कार्यकर्ताहरुलाई गुटगत भेला र पार्टी विधान बिपरित काम गरेकोमा मञ्चको सोही दिन बसेको बैठकले उनीहरुलाई कारवाहीको गर्न सिफारिस गर्ने निर्णय गरेको बताए ।

“पार्टीमा कहिल्यै काम नगरेका, संगठित सदस्य नरहेका, बाटोमा हिंडी रहेका मानिसहरुलाई समेटेर उहाँहरुले नयाँ कमिटि गठन गरेको जनाउनु भएको छ, जुन हास्यास्पद छ,” अध्यक्ष पुडासैनीले भने। 

यसअघि गत आइतबार एक भेलाले भक्त गुरुङको अध्यक्षतामा नेकपा ओली समूहको गठन गरेको थियो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङलाई प्रवासी नेपाली एकता मञ्च यूकेको चेतावनी

गतसाता भक्त गुरुङले आफ्नो नेतृत्वमा नेकपा (ओली समूह) को लागि प्रवासी नेपाली एकता मञ्च यूके गठन गरेपछि एनआरएनए यूकेकी अध्यक्ष पूनम गुरुङले उनीहरुलाई सञ्जालहरु मार्फत बधाई तथा शुभकामना दिएकी थिइन् । अध्यक्ष पूनम गुरुङको उक्त कदमबाट क्रुद्द बनेको प्रवासी नेपाली मञ्च यूकेको रोष पनि पत्रकार सम्मेलनमा प्रकट भयो ।

सम्मेलनमा अध्यक्ष पुडासैनीले भने, “एनआरएनए यूके अहिले आफ्नै समस्याहरुले जेलिएको अवस्था छ; आफ्ना सदस्यहरुको सामान्य समस्याहरु समाधान गर्न समेत बिर्सेर कुनै व्यक्तिको प्रभावमा परी चोइटिएर गएका समूहलाई मान्यता दिन खोज्नु भुल हो ।”

त्यस्तै गरी पत्रकार सम्मेलनमा प्रवासी नेपाली मञ्च यूकेका महासचिव सुरेश गौतमले पनि एनआरएनए यूके अध्यक्ष पूनम गुरुङले सामाजिक संस्थाको पद दुरुपयोग गरी कुनै एउटा गुटलाई मान्यता प्रदान गर्न खोजेको र एनआरएनएए यूके जस्तो साझा संस्थालाई कसैको प्रभावमा पर्न दिन नहुने विचार व्यक्त गरे ।