March 24, 2024, Sunday
२०८० चैत्र ११, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

काठमाडौँ – लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०/७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ । सो सडक निर्माणका लागि पटकपटक अवधि थप गरिए पनि निर्माण व्यवसायीले ढिलाइ गरेकाले बालाजु–त्रिशूली÷छहरे–विदुर सडक योजनाले ठेक्का तोड्ने निर्णय गरेको थियो ।

गत असार १६ मा ठेक्का तोड्ने निर्णय भएको याजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । निर्माण व्यवसायीले सो निर्णय भएको भोलिपल्ट नै अदालतमा मुद्दा हालेकाले अदालतले नयाँ ठेक्का अघि नबढाउन आदेश दिएको थियो । निर्माण शुरु भएको वर्षौं बित्दासमेत निर्माण व्यवसायीले निर्माणमा ढिलाइ गरेकाले ठेक्का तोड्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सात पटकसम्म अवधि थप्दा पनि काम सकिएको छैन ।”

Advertisement

अदालतको आदेशमा अन्तिम निर्णय नभएसम्म निर्माणको काम नगर्ने र नगराउने भन्ने उल्लेख भएकाले तत्काल अर्काे ठेक्काबाट अघि बढ्ने अवस्था नभएको प्रमुख प्रजापतिले बताउनुभयो । योजनाले पहल गरेपछि अहिले बल्ल मुद्दा अघि बढिरहेको छ । अदालतले ठेक्का तोड्ने पक्षमा फैसला गरेमा सो सडकमा थप काम गराउँदा व्यवसायीबाट असुल गराउने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अदालतबाट निर्णय भएपछि नयाँ ठेक्कामा जानका लागि अहिले सबैको काम भइरहेको छ ।” यो सडकको लम्बाइ ३४ किमी रहेको छ ।

अहिले बालाजुबाट ककनीसम्म सडकको नालीको काम भइरहेको छ । अहिले चिसोले गर्दा कालोपत्र रोकिए पनि केही समयपछि कालोपत्र गर्न सकिने योजनाले जनाएको छ ।