April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कीर्ते लालपूर्जा बनाएर जग्गा बिक्री गरेकाे आरोपमा ९ जना पक्राउ

कीर्ते लालपूर्जा बनाएर जग्गा बिक्री गरेकाे आरोपमा ९ जना पक्राउ

काठमाडौं – काठमाडौंमा नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । थानकोटमा रहेको २० आना जग्गा वास्तविक धनी मीना खड्कालाई थाहै नदिई उनकै नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी पूर्जा बनाइ अर्को व्यक्तिलाई बिक्री गरेको आरोपमा ९ जनालाई विभिन्न मितिमा काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने ४७ वर्षीय विजयकुमार खड्का, धादिङ नीलकण्ठ नगरपालिका पतेनी घर भई हाल चितवनको राप्ती नगरपालिका–२ पिप्ले बस्ने बालप्रसाद भट्ट, काभ्रेको पनौती नगरपालिका–४ का रामचन्द्र पुडासैनी भनिने पुण्डेप्रसाद काफ्ले, संखुवासभा नूनढाकी गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–१८ भैंसेपाटी बस्ने ६३ वर्षीय इन्द्रबहादुर खत्री भनिने इन्द्रबहादुर घले रहेका छन् ।

Advertisement

यस्तै पक्राउ पर्ने अन्यमा रामेछापको मन्थली नगरपालिका–११ का बालकृष्ण बुढाथोकी, सिन्धुपाल्चोकको ठूलोधादिङ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने लक्ष्मी घतानी , ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ४६ वर्षीय विजयप्रकाश सुनुवार, सिन्धुलीको कमलामाई नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने कृष्ण थापा मगर भनिने कृष्णबहादुर दर्लामी र झापाको कचनकवल गाउँपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ४५ वर्षीय कृष्णबहादुर कटुवाल पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैगरी गत माघ ७ र २० गते कीर्ते कागजातको आधारमा जग्गा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका मालपोत कार्यालय कलंकीमा कार्यरत तीनजना कर्मचारी भने धरौटीमा छुटेका छन् ।

तत्कालीन समयमा मालपोत कार्यालय कलंकीमा कार्यरत शाखा अधिकृत दीपक दाहाल र सोही कार्यालयमै नायब सुब्बा पदमा कार्यरत नारायण श्रेष्ठ ४ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् भने तत्कालीन समयमा मालपोत कार्यालय कलंकीमा खरिदार पदमा कार्यरत दीपा पंज्ञानी एक लाख रुपैयाँ धरौटीमा छुटेकी छन् ।पक्राउ परेका ९ जनामाथि ठगी, लिखतसम्बन्धी कसूर र संगठित अपराधको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।