May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ठूलो संख्यामा विद्यार्थी बिरामी भएपछि तीन दिनका लागि विद्यालय बन्द

ठूलो संख्यामा विद्यार्थी बिरामी भएपछि तीन दिनका लागि विद्यालय बन्द

दैलेख – नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी काँप्ने लगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार करीब एक सय ५०, सोमबार करीब एक सय र मङ्गलबार ८५ जना विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।

Advertisement

विद्यार्थी बिरामीले ग्रसित भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताउनुभयो ।

विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिनुभयो । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिनुभएका डा गुरुङले जानकारी दिनुभयो । यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ ।  हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताउनुभयो ।​

सयौंँ विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीयवासी यामराज कटुवालले बताउनुभयो । विद्यार्थी मात्र नभइ नारायण – ५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ ।  टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड  लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताउनुभयो ।