कर्तव्य
आफ्नै आधाकल्चो जीवनको आधा कहानी लेख्न
नसकिरहेको बेला
अधूरो, अपूरो नै सही तिमीलाई लेख्न कर्तव्य ठानेको छु
यतिबेला-मलाई माफ गरिदिनू !
***
विश्व छटपटिरहेको देखेर आफैँ सास फेर्न नभुल्नू
बरु ,सारालाई नयाँ जीवन दिनुपर्छ तिमीले
हो, नयाँ जीवन ! तिमीले दुख्नु हुदैन, थाक्नु हुदैन ।
***
बाँच्ने रहर दुनियाँमा हर कोहीलाई हुन्छ सायद !
जसरी, ज्यानको बाजी थापेर युद्धभूमिमा जानेहरुले
माटोको टीका लाउँछन् फर्किने आशामा
जीवनको आयु थाहा पाएरै
हाँसेर बाँचिरहेका हुन्छन् क्यान्सर रोगीहरु ।
***
रोक्न नसकोस् तिमी सामु नपुगिन्जेल महामारीको वेगवान
झोक्काले एम्बुलेन्सको गति
नरोकियोस् थरथराईरहेका कमजोर पाईलाहरु बिच बाटोमै
गुमाउनु नपरोस् अक्सिजनको अभाव र लापरबाहीको कारण
कसैले ज्यान ।
***
देखाउ तिम्रो सेतो कोटको चमत्कार !
-स्टिकोट लगाएर संसद भवनमा छिर्नेहरुलाई-जनताको स्वास्थ्यमा समेत राजनीति गर्ने नेताहरुलाई
-राष्ट्रप्रेमीलाई
-शहर बाट फर्कन नभ्याउदै संक्रमित सोझा गाउँलेहरुलाई
– देशको संघार टेक्नसाथ संक्रमति परदेशीहरुलाई
-पत्रकारलाई
-लेखक,कविलाई
-शहरका घरबेटीलाई
-व्यापारीलाई
-मजदुरलाई
-विधार्थीलाई
– किसानलाई
-अस्तित्वका खातिर आफ्नै देशमा लडिरहेकाहरुलाई
-मृत्युलाई नजिकबाट नियालेर कष्ट खेपिरहेकाहरुलाई
सबैलाई बचाउ ।
***
थाहा छ, आफ्नो कर्तव्य नभुलेरै
आफुलाई भुलिरहेको छौ प्रत्येक क्षण !
सत्तामा हुनेहरुका लागि कुर्सी सबथोक भएझैं
हाम्रो लागि त तिमी हौं ।
त्यसैले, तिमीप्रति समर्पित छन् केही अपूर्ण शब्दहरु
धैर्यता, आत्मविश्वास, सहनशीलता, कठोर व्यस्तता नै
तिम्रो महानता हो ।
जीवनलाई जोखिम मोलेर संसार बचाउँने तिम्रो पेशालाई
बयान गर्ने कुनै शब्द भेटिनँ।
***
-मलाई माफ गरिदिनू !
***
(कोभिड-१९ संक्रमित बिरामीहरुको उपचारमा खटिरहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रति समर्पित ।)
२०२१ -०५-०९
प्रतिकृया दिनुहोस्