बेलायतमा कोरोनाबाट मृत्युको हुनेको संख्या शून्य
लन्डन । बेलायतमा पहिलो पटक कोभिड–१९ बाट मृत्यु हुनेको संख्या शून्य पुगेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएता बेलायत, स्कटल्याण्ड र नर्दन आयरल्याण्डले सोमबार शून्य मृतक संख्या भएको जनाएको छ ।
वेल्स राज्यमा आइतबार चार मृतक दर्ता भइरहँदा संयुक्त अधिराज्यमा मृत्यु हुनेको आँकडा सामान्य रूपमा मात्रै बढेको छ । यसअघि, यूके प्रधानमन्त्री बोरिस जोन्सनले आगामी साताबाट लकडाउन खुकुलो बनाउने सङ्केत गरिसकेका छन् । विज्ञहरूको सल्लाहमा यूकेले चार राज्यभर सर्तकताको तहलाई चारबाट तीन टियरमा झारिसकेको छ । तेस्रो टियरको अर्थ भाइरसको उपस्थिति यथावत् रहेपनि संक्रमण भयावह र वृद्धि हुने अवस्थामा नरहेको जनाउँदछ ।
सरकारी विज्ञहरूका अनुसार अस्पताल दर्ता र मृत्यु हुनेको संख्या घट्दै गइरहेको जनाएका छन् । यसैगरी, कोभिडविरुद्धको खोप कार्यक्रमको प्रभाव पनि देखिन थालेको जिकिर गरिरहेका छन् । पछिल्लो तथ्याङकअनुसार एक तिहाई वयस्कले पूर्ण खोप लगाइसकेका छन् । त्यस्तै, दूई तिहाई बढीले दुईमध्ये पहिलो खोप प्राप्त गरिसकेका छन् । गत जनवरीमा यूकेले सबैभन्दा उच्च संक्रमण दर अनुभव गर्दा सर्तकता तह पाँचौ टियरसम्म पुगेको थियो । जुन फेब्रुअरीमा क्रमशः ओरालो लागेको थियो । सर्तकता तह कडाइ गर्ने या खुकुलो बनाउने स्वतन्त्र रूपमा संयुक्त जैविक सुरक्षा केन्द्रको सिफारिसमा तय हुने गर्दछ ।
एक वर्षभित्र तेस्रो लकडाउन देखेको यूके सरकारले आगामी मे १७ तारिखबाट तेस्रो चरणअन्तर्गत लकडाउनलाई थप खुकुलो बनाउँदैछ । नियमअन्तर्गत अब आगामी साता ३० को संख्यामा भेटघाट गर्न छुट हुनेछ । यससँगै सिनेमा, पब, रेस्टुरेन्ट, होटलहरूले आफ्नो सेवा सुचारु गर्नेछन् । वैदेशिक भ्रमण गर्न योग्य १२ देशहरूलाई यूकेले हरियो(खतरामुक्त) सूचीमा राखेको छ । यूकेमा हालसम्म ४४ लाख बढी संक्रमित भएका छन् । त्यस्तै, एक लाख २८ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।



प्रतिकृया दिनुहोस्