March 24, 2024, Sunday
२०८० चैत्र ११, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ लिम्बु भाषामा बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निस्कँदै

याक्थुङ लिम्बु भाषामा बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निस्कँदै

विजयपुर, १४ मे / समुदायका बालबालिका र किशोरकिशोरीहरूलाई लक्षित गर्दै याक्थुङ (लिम्बु) भाषामा बाल पुस्तकहरू तयार हुने भएको छ । आफ्नो मातृभाषाप्रति जागरुक बनाउन बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निर्माण गर्ने तयारी भइरहेको हो ।


एसिया फाउन्डेसनको प्राविधिक सहयोगमा अबको एक महिनाभित्र पहिलो चरणअन्तर्गत याक्थुङ भाषामा बाल पुस्तक तयारीको काम सुरु गर्ने प्राज्ञ एवम् भाषाविद् अमर तुम्याहाङले जनाए । उनले प्रारम्भमा इलेक्ट्रोनिक माध्यमबाट पढ्न सहज हुने गरी ई–पुस्तक तयार हुने बताए । ‘जुलाई महिनासम्म फाउन्डेसनले उपलब्ध गराएको सामग्रीको याक्थुङ भाषामा उल्था भइसक्ने छ । ती सामग्रीहरू इन्टरनेटको सुविधा भएको ठाउँमा पढ्न सकिनेछ,’ तुम्याहाङले भने । उनले बाल साक्षरता कार्यक्रमअन्तर्गत फाउन्डेसनको नेपाल च्याप्टरले मातृभाषामा सामग्रीहरू तयार भइरहेको बताए । यसअघि, नेपालमा खस नेपाली, थारू, तामाङ, नेवारी भाषामा बाल पुस्तकहरू तयार भइसकेका छन् ।

Advertisement


यसैगरी, फाउन्डेसनका प्रतिनिधि समिरा राजभण्डारीसँग चुम्लुङ प्रतिनिधिले छलफल गरेको जनाउँदै किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङले पुस्तक दुई चरणमा निर्माण हुने बताए । ‘पहिलो चरणमा उपलब्ध सामग्रीको उल्था हुनेछ । दोस्रो चरणमा याक्थुङ समुदायका मौलिक इतिहास, सँस्कृति, रहनसहन झल्काउने गरी सरल भाषा पठन सामग्री तयार हुनेछ,’ उनले भने । उनले लेट्स रिड्स एप्समार्फत याक्थुङ भाषाका सामग्री उपलब्ध हुने बताए । यसका लागि चुम्लुङले भाषाविद्, भाषिक अभियन्ता र विज्ञहरूसँग समन्वय गरेर काम गर्ने प्रष्ट्याए । डा. तिगेलाले प्रविधिको युगमा नयाँ पुस्तालाई प्रेरित गर्न भाषामा र स्थानीय साँस्कृतिक चरित्र झल्कने कार्टुन चित्रहरू पनि तेस्रो चरणअन्र्तगत निर्माण गर्ने थपे । बिहीबार भएको जुम छलफलमा फाउन्डेसन प्रतिनिधि राजभण्डारी, चुम्लुङबाट अध्यक्ष योगराज वनेम, उपाध्यक्ष तिगेला, महासचिव निरन्ती तुम्बापो, कियाचु लिम्बु साँस्कृतिक परिषद अध्यक्ष गोविन्द आङबुङ सहभागी भएका थिए ।


एसिया फाउन्डेसनको स्थापना सन् १९५४ मा भएको थियो । यसको मुख्यालय संयुक्त अधिराज्य अमेरिकाको सान फ्रान्सिसकोमा छ । फाउन्डेसन एसिया महादेशको १८ मुलुकहरूमा सक्रिय छ । गैरनाफामूलक संगठनका रूपमा आफूलाई उभ्याएको फाउन्डेसन नेतृत्व विकास, महिला सशक्तिकरण, स्वतन्त्र चुनावको अनुगमन, विकास र साझेदारी, एसियाका लागि किताब लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।