आदिवासी जनजातिको सँस्कृतिको अभिभावक बन्नेछु – राजदूत रेग्मी
१५ मे, लन्डन / बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले आदिवासी जनजाति पहिचानका लागि अभिभावक बनेर साथ दिने बताएका छन् । उनले नेपाली राष्ट्रियता चिनाउन आदिवासी जनजाति समुदायको साँस्कृतिक पहिचानले महत्व राख्ने उल्लेख गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन), यूकेले दूतावास प्रमुखसँग राखेको भर्चुअल परिचयात्मक कार्यक्रममा बोल्दै राजदूत रेग्मीले निकट भविष्यमा जनजाति समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताए । ‘लकडाउन खुल्नेबित्तिकै दूतावासबाट स्वागत गर्नेछु । आदिवासी जनजातिका सङ्गठनका प्रस्तावहरूउपर गम्भीर भएर काम गर्नेछु,’ राजदूत रेग्मीले भने । उनले विश्वका जनुसुकै कुनामा पुगेपनि नेपाली पहिचान कायम रहने बताउँदै साँस्कृतिक समुदायले दूतको काम गर्ने जिकिर गरे ।
त्यस्तै, दूतावासका उपनियोग प्रमुखले नेपाली सँस्कृति जर्गेना गर्न प्रवासमा रहेका जनजाति समुदायको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले बेलायतमा रहेका सबै संघसंस्थाहरूलाई समानताका आधारमा व्यवहार गर्ने दूतावासको नीति रहेकोमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै नेफिन यूकेका अध्यक्ष जङ््ग सुनुवारले २१ राजदूतका रूपमा रेग्मीलाई स्वागत गर्दै बेलायतमा रहेका सबै समुदायका साँस्कृतिक पर्व, भाषा, पहिचानलाई सम्मान गर्न आग्रह गरे । उनले बेलायतसँगको कूटनीतिक सम्बन्ध स्थापना गर्नमा आदिवासी जनजाति समुदायको सबैभन्दा ठूलो योगदान रहेको बताए । महासचिव खशी लिम्बुले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्ष सिरी लिम्बु, तुल छन्त्याल, पूर्व नेफिन सचिव भक्त दुरा, डा. सुमाया राई, सोलिसिटर उत्तरमान तिगेला, फोनिज यूके पूर्व अध्यक्ष विश्वासदीप तिगेला, किराया अध्यक्ष कल्पना राई, तामाङ सोसाइटी अफ यूके अध्यक्ष ज्ञान तामाङ, सल्लाहकार ग्याम गुरूङ, एकिन्द्र गुरूङ, रिम मगर, विष्णु जिमी, थर्क राना, गुणराज खायाखिम्, सीता पुर्जा पुन, लीला सेलिङ, दिलसिङ मेन्याङ्वो, अमित थेवे लगायतको उपस्थिति रहेको थियो ।
नेफिन यूकेको सङ्घीय परिषद एवम् विधान सभा बैठक जारी
यसैगरी, नेफिन यूकेको आसन्न महाधिवशेनमा प्रस्तुत हुने गरी सङ्घीय परिषद बैठक एवम् विधान सभा आयोजना भइरहेको छ । महासचिव खुशी लिम्बुले करिब डेढ दर्जन बढी बुँदा प्रस्तुत भइरहको जानकारी दिए ।
बैठकमा अन्तर्राष्ट्रिय समितिहरूको साझा सञ्जाल निर्माण, संरचनागत प्रतिनिधित्वको संरचना र प्रणाली, आचारसंहिताबारे विधान मस्यौदा समितिले प्रस्तुत गरेको खाका उपर छलफल भइरहेको संयोजक एकेन्द्र गुरूङले बताए । नेफिन यूकेको आगामी महाधिवेशन आगामी जून पहिलो साता हुँदैछ । सङगठनको स्थापना सन् २००९ मा भएको थियो ।
महासङ्घ यूकेमा हाल एघार जातीय सङगठकहरू सदस्य सङ्गठनका रूपमा रहेका छन् । यसमा छन्त्याल समाज, दुरा समाज, ह्योल्मो समाज, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, किरात राई यायोक्खा, किरात सुनुवार समाज, मगर सङ्घ, शेर्पा एसोसिएसन, तमु समाज, तमु धीँ एसोसिएसन आबद्ध छन् । विश्वभर २२ मुलुकमा नेफिन सक्रिय छ ।




प्रतिकृया दिनुहोस्