April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अतिक्रमित भूमि कालापानी क्षेत्रमा सशस्त्र प्रहरीले बढायो नियमित गस्ती

अतिक्रमित भूमि कालापानी क्षेत्रमा सशस्त्र प्रहरीले बढायो नियमित गस्ती

काठमाडौँ – उपल्लो दार्चुलाको अतिक्रमित भूमि कालापानी क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्न थालेको छ । चिसो कम भएसँगै सशस्त्रको ५० नम्बर गुल्मले सो क्षेत्रमा गस्ती सुरु गरेको हो ।  ५० नम्बर गुल्म प्रमुख धीरेन्द्र शाहको नेतृत्वमा शनिबारबाट कौवा र कालापानी क्षेत्रमा गस्ती सुरु भएको हो । शनिबार सशस्त्र प्रहरीको टोलीसँगै स्थानीय जनप्रतिनिधिसमेत सहभागी रहेको व्यास गाउँपालिका– १ का वडाध्यक्ष अशोक बोहराले जानकारी दिए ।
उच्च हिमाली क्षेत्र भएकाले हिउँदमा जमेको हिउँ पग्लिएपछि भारतीय सुरक्षाकर्मीले पनि गस्ती सुरु गरेको छ । भारतीय सुरक्षाकर्मीले लिपुखोलापारिको गुञ्जी, कालापानी क्षेत्रमा र नेपालको सशस्त्र प्रहरीले वारि रहेको कौवा, कालापानी क्षेत्रमा गस्ती गर्न थालेको हो । 

‘कालापानीभन्दा तीन सय मिटरनजिकसम्ममा हाम्रोे गस्ती हुन्छ,’ गस्तीमा संलग्न एक प्रहरीले भने, ‘नियमित गस्तीकै रूपमा शनिबार पनि भारतीय सुरक्षा पोस्टनजिकै गस्ती गरिएको हो ।’ छाङरुमा रहेको सशस्त्रको गुल्मबाट सातामा एक वा दुईपटक गुञ्जी, कौवा र कालापानी क्षेत्रमा तथा चीनसँग सीमा जोडिएको पिल्लर नं. १ स्थित तिंकर क्षेत्रमा साता वा दुई सातामा एकपटक गस्ती गर्ने गरेको सशस्त्र प्रहरीले जनाएको छ । सरकारले अतिक्रमित क्षेत्र समेट्दै नक्सा जारी गरेपछि त्यस क्षेत्रमा नेपाली सुरक्षा संयन्त्रको उपस्थिति रहेको हो । छाङरुमा गुल्म बनाएर बसेको सशस्त्रको टोलीले हिउँ पग्लिएपछि केही साताअघिबाट भारत र चीनसँग जोडिएको नेपाली भूभागमा गस्ती सुरु गरेको हो । नयाँ पत्रिका

Advertisement