May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

मलेसिया । याक्थुङ मुन्धुममा वर्णित स्थलहरूको संरक्षणका लागि लिम्बुवान क्षेत्रभर समिति निर्माण गरेर अघि बढ्ने युमा साम्यो पक्षधरहरूले जनाएका छन् । साँस्कृतिक अतिक्रमण बढेको भन्दै मुन्धुमी अस्तित्व जोगाउन संरक्षण समिति निर्माण गर्ने युमा साम्यो महासभाले तयारी गरिरहेको छ ।


महासभाको अन्तर्राष्ट्रिय समन्वय समितिको हालै बसेको बैठकले त्यसका लागि समन्वय गर्दै आवश्यक सहयोग उपलब्ध गराउने भएको अध्यक्ष नरेन्द्र माबोहाङले बताए । उनका अनुसार पहिलो अधिवेशनपछि बसेको बैठकले महामारी साम्य भएलगत्तै पूर्वी लिम्बुवान इलाकामा जिल्ला र थुमव्यापी मुन्धुमी स्थल संरक्षण समिति गठन कार्यलाई अघि बढाउने निर्णय गरेको जनाए । ‘याक्थुङ लिम्बु मुन्धुमी स्थल संरक्षण समितिहरूको गठनलाई तीव्र पार्नेछौँ । इम्बिरी याङ्थाङवा(तमोर) याक्थुङ मुन्धुमी स्थलहरूमा जग्गा खरिद गरी युमा साम्योको अधिनमा राखेर संरक्षण गर्नेछौँ,’ उनले भने । अध्यक्ष माबोहाङले यसका लागि युमा साम्यो महासभा नेपालको नाममा आवश्यक जग्गा खरिद गरी पास गरिने बताए । उनले मौलिक याक्थुङ पहिचानको संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दै जनजागरण अभियान सञ्चालन गरिने पनि उल्लेख गरे ।

Advertisement


यसैगरी, बैठकले स्थगन रहेको नेपालको १२ औँ राष्ट्रिय जनगणना कार्यक्रमलाई लक्षित गरेर आगामी बैठकद्वारा केही निर्णय गर्ने महासचिव धनराज साम्याङ्खामले बताए । उनले जनगणनामा युमा धर्म सूचीकरण गराउन नीतिगतसँगै संस्थागत कामहरू गर्ने जनाए । ‘जेठ अन्तिम सातादेखि सुरु हुने भनिएको जनगणना स्थगन भएपनि हाम्रो अभियान जारी रहनेछ,’ उनले भने । युमा साम्यो महासभाले जनगणनामा जातिको महलमा याक्थुङ लिम्बु, मातृभाषा र पुख्र्यौली भाषामा याक्थुङ र धर्ममा युमा धर्म लेखाउन आह्वान गरिरहेका छन् । जातीय संस्थाका रूपमा रहेको किरात याक्थुङ चुम्लुङले भने धर्ममा किरात, जातिमा लिम्बु र भाषामा लिम्बु लेख्नुपर्ने उल्लेख गरिरहेको छ । युमा साम्यो महासभाले किरात मौलिक जातीय पहिचान नभएकोले त्यसलाई अस्वीकार गर्दै आइरहेको छ ।


त्यस्तै, बैठकले केही सल्लाहकारहरू समेत चयन गरेको सचिव भीम साउदेनले सिलौटी टाइम्सलाई जानकारी दिए । उनले सल्लाहकारहरूमा निवर्तमान अध्यक्ष लोकेन्द्र तबेबुङ, डा. चैतन्य मेन्याङ्वो, सहप्राध्यापक बालकृष्ण माबुहाङ, उपप्राध्यापक अमर तुम्याहाङ, जित मेन्याङ्वो र कुल मेन्याङ्वोलाई चयन गरिएको बताए ।


युमा साम्यो महासभा, अन्तर्राष्ट्रिय समन्वय समितिको स्थापना सन् २०१९ मा भएको थियो । समितिको गत मे एकमा पहिलो अधिवेशन सम्पन्न भएको थियो । महसभामा हाल १६ मुलुकका अभियन्ताहरू जोडिएका छन् ।