April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै

झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै

बैशाखे पूर्णिमा उभौली पर्वमा
ष्याँदर पिदार गर्ने चन्दिको थानमा
दुमा र ग्यूमा ढोलको ताल फेर्दै
झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै
इन्द्रधनुष पहिरनमा ब्लुकुम्सला गर्दै
सबै दुःख थकान भुलेर
ष्याँदर सीलमा रम्दा भरिन्छ जोस र उर्जा
हा हा हासल हासल, हा हा हासल हासल
खल्पी खल्पा बासल, ग्योम्ली ग्योम्ले गासल
हा हा हासल हासल, हा हा हासल हासल !!

________

Advertisement

ष्याँदर देयी देयाको पिदार गर्दै
प्रकृति र पितृदेवको स्मरण गर्दै
पाकेको नयाँ अन्न बाली अर्पण गर्दै
नयाँ बीज र बिरुवाको रोपाई गर्दै
पूर्खाहरूसँग आशिष माग्दै
प्रकृति शक्तिको जय जयकार गाउँदा
भरिन्छ नया जोस र उर्जा
हा हा हासल हासल
खल्पी खल्पा बासल
ग्योम्ली ग्योम्ले गासल
हा हा हासल हाहा हासल हासल !!

_______

बुढापाका, अधवैँशे, भाण्टा–भुण्टी तन्नेरी सबै
ष्याँदरको सीलमा पौठेजोरी खेल्दै
दुमा र ग्यूमा ढोलको दोहोरी मच्चाउँदै
हरियो स्याउला हल्लाउँदै, सेतो टोट्लाको पुष्प–वृष्टि गर्दै
प्रेम र सौहार्दाले परिवार ,नाता ,समाज भेला भई
पुर्सुङ्ग ,एरि रकोदेलेको सामुहिक भोज खाँदा
भरिन्छ नया जोस र उर्जा
हा हा हासल हासल
खल्पी खल्पा बासल
ग्योम्ली ग्योम्ले गासल !!

________

झुम्के रुमाल फेनेरेल्फ कुममाथि झुलेको
आफ्नै हातले बुनेर सोल्टिनीले दिएको
तीनपाने रिद्दो पोङबाट सार्दै
जिरमाको रसलाई छपनीमा तार्दै
सोल्टिनीले डाक्छिन है कर्के आँखा लगाउँदै
ष्याँदर सीलमा रमाउँदै मुग्दुमी स्लाक गाउदा
भरिन्छ नया जोस र उर्जा
हा हा हासल हासल
खल्पी खल्पा बासल
ग्योम्ली ग्योम्ले गासल !!

________

नाःसोले पिदार गरी ष्याँदर देयी जगाउछन
पोइब र ग्याँमी फलाक्दै पितृदेवलाई पुकार्छन
सुख, शान्ति, सम्बृद्धिको मङ्गलकामना गर्दै
रोग कष्ट अमङ्गल टाढा भागोस् भन्दै
सामूहिक प्रार्थना ष्याँदर देयी संग गरिदा
देश सम्झी परदेशी घर फिर्दा
नया जोश र उर्जा भरिन्छ
हा हा हासल हा हा हासल हासल
खल्पी खल्पा बासल
ग्योम्ली ग्योम्ले गासल
हा हा हासल हासल !!

________

ष्याँदरको बरिथुँ साटासाट गरेर
पशु, पक्षी, प्रकृति सबको अनुकरण गरेर
दुम्सी नाच, धोविनी नाच, भालु नाच
पवन नाच, नाःसो नाच… फेरि–फेरि नाचेर
ढोलको भाका फेर्दै, खुये खुये खुये भन्दै
सुरो थुन्दै ढोलेहरू घरघर घुम्दै
श्यादर पिदार उभौली मनाउदा
नया जोश र उर्जा भरिन्छ
हा हा हासल हासल हा हा हासल हासल
खल्पी खल्पा बासल
ग्योम्ली ग्योम्ले गासल
हा हा हासल हासल हा हा हासल हासल
हा हा हासल हासल भन्दै श्यांदर सिल नाचौ है त
श्यांदर पिदार उभौली पर्वको थु हर्स्या बरिथू ( शुभकामना )

________

हाल : यूके ।