जनजाति महासंघ यूकेको महाधिवेशन जून १९ मा हुँदै, निर्वाचन समिति गठन
लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको चौथो रााष्ट्रिय अधिवेशन आगामी जून १९ मा हुने भएको छ । महासंघको कायसमितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोभिड–१९ र जारी देशव्यापी लकडाउनका कारण महाधिवेशन भर्चुअल रूपमै सम्पन्न हुने भएको छ ।
अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा बसेको बैठकले चौथो महाधिवेशनको वन्द सत्र सञ्चालन/निर्वाचन गर्नका लागि भक्तबहादुर दुराको अध्यक्षतामा तीन सदस्यीय अध्यक्ष मण्डल समेत गठन गरेको छ । समितिको अन्य दुई सदस्यहरूमा महासंघका पूर्व अध्यक्ष थर्क राना र सल्लाहकार धर्म तामाङ रहेका छन् ।
त्यसैगरी, नेफिन यूकेले बेलायतमा नेपाल आदिवासी जनजाति प्रज्ञा–प्रतिष्ठान स्थापना गर्ने भएको छ । नेपालमा चल्दै आएको आदिवासी जनजाति आन्दोलन र मुद्दालाई अध्ययन, शोध, अनुसन्धान, बहस, अन्य प्राज्ञिक कार्यक्रमहरूको प्रकाश पार्ने उद्देश्यले स्थापना गर्न लागिएको आदिवासी प्रज्ञा प्रतिष्ठानमा बेलायतमा रहेका प्राज्ञ, लेखक, साहित्यकार, पत्रकार, वरिष्ठ आदिवासी अभियन्ताहरू रहनेछन् ।
बैठककले अधिवेशनपूर्व एक तदर्थ समिति गठन गर्न महासचिव खुशी लिम्बुलाई संयोजकको जिम्मेवारी तोकेको छ । त्यस्तैगरी विगत समयदेखि नेपालमा र अहिले बेलायतमा पहिचानको आन्दोलनमा लागिरहेका युवा नेता तथा अध्येता लाहाङ चेम्जोङलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । संयोजक र सदस्य सचिवलाई प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिने जिम्मेवारी पनि सुम्पिएको छ । बैठकले अधिवेशनमा सार्वजनिक हुन लागिरेहको आफ्नो प्रथम स्मारिका ‘आदिवासी आवाज’ बारे सम्पादक अमित थेवे र संयोजक महासचिव लिम्बुबाट पनि अद्यावधिक जानकारी लिएको थियो । त्यस्तै, भविष्यमा आदिवासी अभियन्ताहरूलाई पुरस्कृत गर्ने गरी नेफिन यूके पुरस्कार स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो ।
यसैबीच, नेफिन यूकेका अध्यक्ष जंग सुनुवारले हाल नेपालमा महामरीले उत्पन्न गराएको असहज परिस्थितिसँग जुझ्न नेफिन नेपालले सुरु गरेको अभियानमा साथ दिन बेलायतवासी सबै आदिवासी जनजातिहरूलाई आवहान गरेका छन् । महासंघले हाल उपाध्यक्ष लिला सेलिङ माबोको संयोजकत्वमा कोभिड–१९ रिलिफ फण्डका लागि आर्थिक संकलन गरिरहेको छ ।



प्रतिकृया दिनुहोस्