April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रतिगमनलाई साथ दिने नेताहरूलाई कार्वाही गर्छौँ – जसपा अध्यक्ष यादव

प्रतिगमनलाई साथ दिने नेताहरूलाई कार्वाही गर्छौँ – जसपा अध्यक्ष यादव

जसपा अध्यक्ष उपेन्द्र यादव

लन्डन । पार्टीमा विग्रह ल्याउने गरी गतिविधि गर्ने नेताहरूलाई कार्वाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । पार्टीले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई स्पष्टीकरण सोधिसकिएको भन्दै उचित जवाफ नआए कार्वाही प्रक्रिया अघि बढ्ने सङ्केत गरेका छन् ।


दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्ने र प्रतिगमनलाई निम्त्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिँदै आएको ठाकुर महतो समूहमाथि आरोप लाग्दै आएको छ । शनिबार पार्टीको प्रवास विशेष प्रदेश समितिले भर्चुअल जुममा राखेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफ्नो पहिलो प्राथमिकता पार्टी जोगाउने रहेको बताए । ‘सिद्धान्तनिष्ठ र मुद्दा बुझ्नेहरू टसमस गरेका छैनन् । अवसरवाद र लाभको राजनीतिमा विश्वास गर्नेहरूले समस्या ल्याएका छन् । अब, संगठन बचाउन लाग्नेछौँ,’ संयमित हुँदै यादवले भने । पार्टी कार्यालयले केही दिनअघि मात्रै पूर्व राजपाबाट आएका चार नेताहरूलाई लिखित रूपमै स्पष्टीकरण माग गरेको छ ।

Advertisement


पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले प्रम ओलीले अध्यादेशमार्फत ल्याएको नागरितकाको विध्येयक फर्जी भएको आरोप समेत लाए । ‘पहिचान, सङ्घीयता र समावेशीताको नाम सुन्न नचाहने व्यक्ति हुन् ओली । संसदबाट छलफल गरेर ल्याउनुपर्ने विध्येयक अध्यादेशबाट आएको छ । मधेशको नागरिकता, भूपू गोर्खा सैनिकको नागरिक निरन्तरताको सवाल टड्कारो रूपमा उठेको छ । ओलीको अध्यादेशले ती सम्बोधन गर्दैनन्,’ उनले भने, ‘जाली कुरामा विश्वास गरेर हाम्रा केही साथीहरू सत्ताका ब्रोकर भएका छन् ।’ उनले पार्टी फुटाउन देशी विदेशी शक्तिको चलखेल भएको भन्दै प्रतिगमनलाई साथ दिने गरी कहिल्यै राजनीति नगर्ने स्पष्ट पारे । उनले आगामी निर्वाचनमा एमाओवादी केन्द्र, नेपाली काङ्ग्रेस र माधव नेपाल समूहको नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताए ।


प्रवास विशेष प्रदेश समितिका इञ्चार्ज एवम् केन्द्रीय सदस्य आङकाजी शेर्पाले प्रवासमा रहेका पार्टी नेता कार्यकताहरू संस्थापन पक्षसँगै एक ढिक्का रहेको बताए । उनले कुनै पनि हालतमा संसद विघटन गराउने शक्तिसँग राजनीतिक मोर्चाबन्दी नहुने जनाए । समितिका अध्यक्ष धन गुरूङको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम मुख्य सचिव विश्वासदीप तिगेलाले सञ्चालन गरेका थिए । करिब १६ मुलुकका पार्टी नेताहरू सहभागी भएको कार्यक्रमलाई उपाध्यक्ष पूर्वडीआईजीपी पार्वती थापाले सम्बोधन गरेकी थिइन् । प्रदेश समितिमा २१ मुलुकका नेपाली समाजहरू आबद्ध छन् ।