April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

काठमाडौँ । पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेताहरूलाई जनता समाजवादी पार्टीबाट निष्कासन गरिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिले उनीहरूलाई पार्टी सिद्धान्तबाट विचलित भई ओली सरकारतर्फ लागेको भन्दै निष्कासन गरेको जनाएको छ ।

मङ्गलबार केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो र कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई पार्टी एकतामाथि असर हुने भूमिका खेलिरहेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जनाएको छ । पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले विज्ञप्ति जारी गर्दै पार्टी बैठकले नेताहरूलाई कार्वाही गरेको पुष्टि गरेका छन् । ‘पार्टी नीति, सिद्धान्त, विचार, एजेन्डा र कार्यदिशाविपरीत पार्टी स्थापना र एकताको भावनालाई हानी नोक्सान पुग्ने गरी गुटगत राजनीतिमा निरन्तर लागेकाले,’ विज्ञप्तिमा भनिएको छ, ‘लिखित स्पष्टीकरण सोधका थियौँ । तर, चित्तबुझ्दो जवाफ नआएकोले पार्टीले निष्कासन गरेको छ ।’

Advertisement

पार्टीले चार नेताहरूलाई प्रतिगमनलाई बढावा दिने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिँदै आएको आरोप लागेको उल्लेख गरेको छ । निरन्तर पार्टीविरोधी गतिविधिमा लागेको भन्दै गत जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले पूर्व राजपाबाट आएका नेताहरूलाई लिखित स्पष्टीकरण तीन दिनभित्र बुझाउन भनेको थियो । कुनै जवाफ नआएपछि ११ गते २४ घण्टाको समयसीमा दिएको नेता खतिवडाले बताए । प्रम ओलीको असंवैधानिक कदमले प्रतिनिधिसभा दुई दुई पटक विघटन भएको भन्दै उनको कदमको मतियार हुने गरी कुनै पनि नेता सरकारमा सहभागी भए कडा कार्वाही गरिने चेतावनी दिए । जसपाको प्रतिनिधि सभामा कुल ३२ सांसद छन् ।