याक्थुङ(लिम्बु) र मगर भाषाहरुमा बाल साहित्य अनुवाद हुँदै
काठमाडौँ । एसिया फाउन्डेसन अन्तरगत लेट्स रिड अभियानसँग किरात याक्थुङ चुम्लुङ र मगर लेखक सङ्घको संयुक्त प्रयासमा याक्थुङ (लिम्बु) र मगर भाषाहरुमा बाल साहित्य अनुवाद कार्यक्रम आज जुन १८ देखि आरम्भ भएको छ । प्रत्येक भाषामा ६० हाराहारीमा किताबहरु अनुवाद हुनेछन् ।
रबिन्द्र केदेम, सीता पिरती, इन्दिरा नेम्बाङ, प्रेम येक्तेन, पूर्ण कुमारी लिङदेन, अमित थेबे, टङ्कमाया तिगेला, क्षितिज सुब्बा याक्थुङ लिम्बु भाषाका अनुवादक रहेका छन् ।
अमर तुम्याहाङ, सेसेहाङ फियाक, दिलेन्द्र कुरुम्बाङ, येहाङ लाओती, कमल तिगेला पिएचडी, यासेली योङहाङ र मोहन तुम्बाहाङ पिएचडी याक्थुङ भाषामा अनुदित बाल पुस्तकहरुको सम्पादक रहेका छन् । यसरी नै मधुराज केरुङ र डिबी आङबुङ अनुवादक तथा सम्पादकका रुपमा रहेका छन् ।
आजको भर्चुअल उद्घाटन कार्यक्रममा एसिया फाउन्डेसनका नेपाल प्रतिनिधि श्रीमति मेघन नाल्बोले लेट्स रिड मार्फत् बालसहित्यका सामग्रीहरु विभिन्न भाषाहरुमा लेखन तथा अनुवाद गरि मुद्रित र डिजिटल रुपमा तयार गरिएको जानकारी दिइन् । कोभिड १९ को महामारीमा यस कार्यले बालबालिकाहरुलाई घरमा नै बसी बढ्न र सिक्न ठुलो सहयोग पुगेको प्रतिनिधि मेघनले बताइन् ।
बाल साहित्य समाज नेपालका अध्यक्ष ध्रुव घिमिरेले बाल सहित्य सामग्री स्थानीय भाषामा तयार गरी उपलब्ध गराउने लेट्स रिडको अभियान अन्तरगत यो अनुवादको काम हुनु खुशीको कुरो भएको बताए । उनले नेपालका भाषाहरुमा बालसाहित्यका सामग्रीहरु एकदमै कम भएको पनि जानकारी दिए । उनले लोक कथाहरु एक समुदायबाट अर्को समुदायमा बसाइँ सर्छन् तर लिजेन्ड कथाहरु यथा स्थानमा रहने हुनाले यसखाले कथाहरु पनि प्रकाशनमा ल्याउनु पर्ने उनले बताए ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेमले याक्थुङ लिम्बु भाषामा बाल साहित्यका पुस्तकहरु अनुवाद भइ तयार हुनु ऐतिहासिक काम भएको प्रतिक्रिया दिए ।
एसिया फाउन्डेसनका अधिकृत समीरा श्रेष्ठले एसियाका १४ देशका ४२ भाषाहरुमा अनुवाद गरिएका ६,४४८ शीर्षकका बाल साहित्यका किताबहरु रहेको जानकारी दिइन् । यसरी नै लेट्स रिड अभियानमा ६९१ सर्जक, ३,१२३ अनुवादक, ३६९,१२३ मुद्रित पुस्तकहरु रहेको जनाइन् । यसरी नै उनले नेपाली, नेपाल भाषा, थारु, तामाङ हुँदै यस वर्ष याक्थुङ लिम्बु र मगर भाषामा काम हुँदै गरेको जानकारी दिइन् ।



प्रतिकृया दिनुहोस्