आदिवासी जनजाति आन्दोलन जारी छ – महासङ्घ अध्यक्ष बराम
लन्डन । नेपालमा आदिवासी जनजातिको पहिचान र अधिकार अझै सुनिश्चित हुन बाँकी रहेको भन्दै आन्दोलन जारी रहने नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन)का अध्यक्ष जगत बहादुर बरामले बताएका छन् । उनले संविधानमा भएका क्रुटीपूर्ण धाराहरू संशोधन गरेर मात्र आन्दोलनले सार्थकता पाउने धारणा व्यक्त गरेका छन् ।
शनिबार भर्चुअल जुमबाट सुरु नेफिन यूकेको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बरामले भने, ‘पहिचानको सवाल अझै टुङ्गिएको छैन । संविधान संशोधन हुन बाँकी छ,’ उनले भने, ‘कोभिड महामारीले सबै कुरा प्रभावित भएको छ । अहिले जताततै प्राकृतिक प्रकोपका घटनाहरू पनि बढिरहेका छन् । राजनीतिक अस्थिरता उस्तै छ । यस्तो स्थितिमा हामी अहिले रक्षात्मक अवस्थामा पुगेका छौँ ।’ मेलम्चीमा आएको बाढीबाट पीडित वस्ती र बासिन्दाको अवस्था अवलोकन गर्न सिन्धुपालचोक पुगेका बरामले महासंघ प्रकोपको उद्दार कार्यमा समेत खटिएको जनाए ।
अधिवशेनमा महासङ्घका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, जातीय संगठनका अध्यक्षहरू, अन्य मुलुकका नेफिन प्रमुखहरू, नेपाल पत्रकार महासंघ, फोनिज यूके, आदिवासी जनजाति महिला महासंघ, एनआरएनए यूके, गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति, राजनीतिक संगठनका प्रतिनिधिहरू लगायतका संघसंस्थाबाट शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।
महाधिवेशनको दोस्रो चरणमा नेफिन यूकेको वेभसाइट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । नेफिन यूकेको गतिविधि र सांगठनिक क्रियाकलापहरू वेभसाइटमा हेर्न सकिने अध्यक्ष जंग सुनुवारले बताए । यसैगरी, नेफिनको स्मारिका ‘आदिवासी आवाज’ पनि सोही अवसरमा लोकार्पण गरिने छ । सो स्मारिकालाई पत्रकार अमित थेवेले सम्पादन गरेका छन् ।

अधिवेशनमा कोषाध्यक्ष विसन गुरुङले आर्थिक प्रतिवेदन र महासचिव लिम्बुले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन् । त्यस्तै, संघीय परिषदले पारित गरेको संशोधित विधानको मस्यौदा पनि प्रस्तुत हुने कार्यक्रम रहेको छ । बेलायतमा आदिवासी जनजातिको सवालमा शोध, खोज, अनुसन्धान, प्रकाशन जस्ता प्राज्ञिक कामलाई बढावा दिन अधिवेशनले नेपाल आदिवासी जनजाति प्रतिष्ठान यूकेको पनि तदर्थ समिति घोषणा गर्नेछ । नेफिन यूकेसहित १७ वटा मुलुकमा रहेको नेफिनलाई जोड्ने गरी बनेको अन्तर्राष्ट्रिय समन्वय समितिको कार्यविधि पनि प्रस्तुत हुने आयोजकले सिलौटी टाइम्सलाई बताएको छ ।
अधिवेशनमा महासङ्घआबद्ध ११ जातीय घटक सङगठनहरूको सहभागिता रहेको छ । खुल्ला सत्रमा करिब ६० जना बढी प्रतिनिधिहरूले आगामी नेतृत्व चयन गर्ने महासचिव खुशी लिम्बुले जनाए । महाधिवेशन सम्पन्न गर्न भक्तबहादुर दुराको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समिति सदस्यमा पूर्व अध्यक्ष थर्क राना र सल्लाहकार धर्म तामाङ रहेका छन् ।
यूकेमा सन् २००९ मा नेफिनको स्थापना भएको थियो । अहिले महासङघमा तमू धीँ यूके, शेर्पा संघ यूके, मगर संघ यूके, किरात याक्थुङ चुम्लुङ यूके, किरात राई यायोक्खा यूके, दुरा सेवा समाज यूके, किरात याक्खा छुम्मा यूके, किरात सुनुवार समाज सेवा समाज यूके, नेपाल छन्त्याल संघ यूके, तामाङ सोसाइटी यूके र तोप्केगोला समाज आबद्ध छन् ।
महासङ्घको आगामी नेतृत्वका लागि याक्खा छुम्माका पूर्व अध्यक्ष धन रोगू, नेफिन यूकेका पूर्व महासचिव कर्मा पहाडी शेर्पा र अग्रज समाजसेवी भगवान चाम्लिङ प्रतिस्पर्धामा छन् ।



प्रतिकृया दिनुहोस्