April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

काठमाडौँ – सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरूको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ । 

राष्ट्रिय सभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृह मन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासकाे व्यवस्था गर्न प्रतिपरिवार ५० हजार रुपैयाँका दरले दुई करोड ८६ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको हो ।

Advertisement

यस वर्षको मनसुन सुरु भएयता देशका विभिन्न ठाउँमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबारे सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि सरोकारवालाहरूसँग समन्वय गरी आवश्यक निर्देशन गरेको पनि मन्त्री पाैडेलले बताउनुभयो ।

यस वर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पूर्ण निजी आवासको समेत विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुनर्निर्माण गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, यस वर्षको मनसुनजन्य विपदबाट २०७८ असार १६ गतेसम्म विभिन्न जिल्लामा आंशिक तथा पूर्ण क्षति भएका पाँच सय ७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजार रुपैयाँका दरले दुई करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।

सबै प्रदेशमा बाढी तथा पहिरोको लगत सङ्कलन गर्ने कार्य जारी रहेको तथा घरबास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने मन्त्री पौडेलले बताउनुभयो । उहाँले गएकाे वर्षको मनसुनबाट क्षति भएका विभिन्न जिल्लाका तीन हजार नाै सय ४९ परिवारलाई पहिलो किस्ताबापत प्रतिपरिवार ५० हजार रुपैयाँका दरले  १९ करोड ९७ लाख अनुदान प्रदान गरी पुनर्निर्माणको काम सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।