May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अप्रभंश गरिएका नामहरू साँस्कृतिक औपनिवेशीकरणको उपज हुन् – आदिवासी अभियन्ताहरू

अप्रभंश गरिएका नामहरू साँस्कृतिक औपनिवेशीकरणको उपज हुन् – आदिवासी अभियन्ताहरू

काठमाडौँ । साँस्कृतिक उपनिवेशवादका कारण मौलिक नामहरू अप्रभंश गरिएको भन्दै आदिवासी अभियन्ताहरूले चिन्ता प्रकट गरेका छन् । आदिवासीहरूको भूगोलको मौलिक नामहरूको अप्रभंश र प्रतिस्थापन हुँदा अस्तित्व संकटमा परेको समेत आदिवासी बुद्धिजीविहरूले धारणा व्यक्त गरेका छन् ।

Advertisement

आदिवासी बौद्धिक समूहले नियमित रूपमा आयोजना गरिरहेको भर्चुअल जुम संवादमा बोल्दै डा. तारामणि राईले नेपालका अधिकांश रैथाने नामहरू हिन्दूकृत र संस्कृतकरण गरिएको बताए । ‘नेपालका पूर्वमा बस्ने लिम्बु, राईदेखि लिएर पश्चिममा रहेका गुरूङ, मगरसम्मका स्थानहरूको नामको अप्रभंश, अनुवाद र प्रतिस्थापन गरिएका छन्,’ उनले भने, ‘यस्ता कार्यले आदिवासीको मौलिक आस्था, मिथ र भावमा आक्रमण भएको छ ।’ उनले संयुक्त राष्ट्र संघले सन् १९६० देखि सामाजिक र साँस्कृतिक विभागअन्तर्गत समिति नै बनाएर भौगोलिक नामहरूको मानकीकरण गरेको बताए । उनले प्रत्येक पाँच पाँच वर्षमा भौगोलिक नामहरूमा आएको समस्यालाई ध्यानमा राखेर सम्मेलन हुँदै आएको बताए । उनले नेपालमा पनि स्थाननाम समाज खडा गरेर अभिलेखीकरणको अभियान थाल्नुपर्ने सुझाए ।


डा. राईको प्रस्तुतिउपर टिप्पणी गर्दै भाषाशास्त्री डा. प्रेम फियाकले साँस्कृतिक उपनिवेशवादबाट मुक्ति पाउन डिकोलोनाइजेसनको अवधारणा विकसित भएको बताए । आदिवासी र सिमान्तकृत समुदायले पहिचानमा फर्केर प्रतिरोध गर्नुपर्ने जनाए । संवादमा डा. अमृत योञ्जन, गणेश वाम्बुले राई, सुरेश तामाङ, नविन थिङ, डा. विष्णु सिञ्जाली मगर, निर्कु धन राई लगायतले धारणा राखेका थिए । ४१ औँ श्रङ्खलाको संवाद डा. युवराज लिम्बुले गरेका थिए । संवाद आदिवासी समुदायका विविध सवालहरूमा केन्द्रित रहेर प्रत्येक साता जुममार्फत हुँदै आएको छ ।