April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अतिहिन्दूवादीहरूको उक्साहटमा ओलीले संसद विघटन गराए – जसपा नेता चेम्जोङ

अतिहिन्दूवादीहरूको उक्साहटमा ओलीले संसद विघटन गराए – जसपा नेता चेम्जोङ

विजयपुर । मुलुकमा अतिहिन्दूवादीहरूको उक्साहटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दई पटक प्रतिनिधिसभा विघटन गराएको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता रकम चेम्जोङले खुलासा गरेका छन् । पूर्व शान्ति मन्त्री चेम्जोङले दक्षिणी मुलुकको स्वार्थमा समेत फसेर प्रम ओलीले देशलाई बन्धक बनाएको आरोप लगाए ।

पार्टीको लिम्बुवान राष्ट्रिय समितिले अयोजना गरेको लिम्बुवान भर्चुअल संवादको छैटौँ श्रङ्खलामा बोल्दै कार्यकारिणी नेता चेम्जोङले पहिचान, सङ्घीयता र धर्मनिरपेक्षता जस्ता राजनीतिक उपलब्धी समाप्त पार्न विदेशी शक्तिले चलखेल गरेको बताए । ‘नेपाली राजनीति र आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेप भएको छ । यसको मोहरा पार्टीका केही नेताहरू भएका छन् । अतिहिन्दूवादीहरू सक्रिय भएर नेपालमा धर्मनिरपेक्षता, सङ्घीयता, समावेशीता, पहिचानलाई सिध्याउने षड्यन्त्र भएको छ,’ उनले भने, ‘ओली नक्कली कम्युनिष्ट नेता हुन् । सारमा उनी कमल थापाभन्दा फरक छैनन् ।’ पार्टीमा समस्या आएको स्वीकार गर्दै उनले सहमति र एकताका नाममा दक्षिणपन्थी दिशामा जान नसकिने समेत जनाए । पार्टीको आधिकारिताका लागि अहिले निर्वाचन आयोगमा मुद्दा विचाराधीन अवस्थामा पुगेको छ । चेम्जोङले नेपालमा दिगो स्थिरताका लागि पहिचानको मुद्दा र समाजवादी व्यवस्था आवश्यक रहेको बताए । उनले पहिचानको मुद्दा राजनीतिक सिद्धान्तभन्दा महत्वपूर्ण र स्थायी रहेको भन्दै विश्वमै पहिचानको राजनीतिक आन्दोलनको लहर चलिरहेको बताए ।

Advertisement

त्यसैगरी, पार्टी केन्द्रीय सदस्य तथा प्रदेश नम्बर एक सांसद आरसी तुम्बाले प्रदेश एकको नामाकरण गर्दा पहिचानको सवालसँग सम्झौता गर्न नसकिने जनाए । उनले प्रदेश एकको नाम लिम्बुवान किरात राख्न माओवादी, काँग्रेस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका पार्टीहरूसँग लबिङ गरिरहेको बताए । ‘प्रदेशमा तत्कालीन नेकपाको लगभग दुई तिहाई बहुमत थियो । अहिले समीकरण बिग्रिएको अवस्था छ । माओवादी समूह, काँग्रेस, मञ्चसँग छलफल गरिहेका छौँ,’ उनले भने, ‘प्रदेशको नाम राख्दा लिम्बुवान किरात छुट्नु हुन्न ।’ पार्टीका तात्कालीक इञ्चार्ज समेत रहेका तुम्बाले शुक्रबार मात्रै अविश्वासको प्रस्ताव सामना गरिरहेको एमाले नेतृत्वको सरकारले बजेट पारित गरेको बताए । उनले सत्तासीन दलले चुनाव केन्द्रित भएर आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको आरोप लगाए । प्रदेश एकका जसपाबाट तीन सांसद सभामा छन् ।

अर्का केन्द्रीय सदस्य एवम् लिम्बुवान सह इञ्चार्ज भूराज राईले अबको चुनावलाई ध्यानमा राखेर संगठन विस्तार गरिनुपर्नेमा जोड दिए । उनले प्रदेश नम्बर एक पार्टीका लागि विशेष भूगोल रहेको जनाउँदै योजना, कार्यक्रम र नीतिमा एकरुपता ल्याएर अघि बढ्न सबैलाई आग्रह गरे ।

संवाद लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षता तथा मुख्य सचिव केदार धिमालको सञ्चालनमा भएको थियो ।