September 24, 2021, Friday
२०७८ आश्विन ९, शनिबार
सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता सिसेक्पा तङ्नामका दिन सार्वजनिक हुँदैछ । आदिवासी याक्थुङ लिम्बु जातिको यस वर्ष शुक्रबार परेको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का दिन उत्कृष्ट तीन जना विजेताहरू छानिने आयोजक चौबिसे सङ्यक ढाका उद्योगले जनाएको छ ।

मौलिक ढाकाका उत्पादन र घरेलु सीपलाई प्रबद्र्धन गर्न डेढ महिनाअघि उद्योगले प्रतियोगिता आह्वान गरेको थियो । अनलाइनमार्फत भइरहेको प्रतियोगितामा गत असार १५ गतेसम्म दर्जन बढी मुलुकहरूबाट १२३ प्रतिष्पर्धीहरूले ढाका पहिरनमा खिचिएका तस्वीरहरू पठाएको आयोजक संस्थाकी प्रमुख एवम् प्रोप्राइटर यमुना तुम्सा सङ्यकले सिलौटी टाइम्सलाई बताइन् । ‘प्रतियोगितामा बालबालिकादेखि वयस्क उमेर समूहका प्रतिस्पर्धीहरू सहभागी छन् । सबैले मौलिक जातीय साँस्कृतिक पहिरनप्रति मोह देखाएकी छन्,’ उनले भनिन् । ‘पहिचान र सँस्कृतिलाई माया जोगाऔँ, मौलिक उत्पादनलाई प्रोत्साहन र माया गरौँ’ नाराका साथ भएको प्रतियोगिताका विजयीहरूलाई विशेष अवसरमा पु्रस्कृत गरिने सङ्यकले जनाइन् ।

उद्योगको पेजमा अपलोड गरिएको फोटोमा प्राप्त सर्वाधिक लाइक र सेयरका आधार छनोट गरिने पहिलो, दोस्रो र तेस्रो विजेताहरूले क्रमशः २५ हजार, २० हजार र १५ हजार बराबरको ढाका पोसाक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । पूर्वी प्रदेश नम्बर एकमा पछिल्लो समय राम्रो व्यापार व्यवसाय गरिरहेका ढाका उद्योगहरूमध्ये चौबिसे सङ्यक ढाका उद्योग अग्रणी स्थानमा पर्दछ । गत साल प्रोपाइटर तुम्सा सम्बद्ध रहेको याक्थुङ कल्चरल ग्रुपले आयोजना गरेको विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिता पनि अत्यन्तै चर्चामा आएको थियो ।