May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ यूकेले लिम्बु भाषा साहित्य गोष्ठी गर्दै

चुम्लुङ यूकेले लिम्बु भाषा साहित्य गोष्ठी गर्दै

केन्ट । याक्थुङ लिम्बु समुदायको महान् पर्व मानिने सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)को अवसर पारेर किरात याक्थुङ चुम्लुङ यूकेले लिम्बु भाषा साहित्य गोष्ठी गर्ने भएको छ । याक्थुङ भाषा, साहित्य र लोककलालाई प्रबद्र्धन गर्न चुम्लुङले गोष्ठी गर्न लागेको जनाएको छ ।


कोभिड महामारीका कारण गत वर्षझैँ यसपटक पनि भौतिक उपस्थितिसहितको कुनै पनि कार्यक्रम नरहेको हुँदा भर्चुअल रूपमा नै साहित्य गोष्ठी हुन लागेको कियाचु यूकेका अध्यक्ष तिलविक्रम सम्बाहाङ्फेले जनाए । उनले शनिबार हुने साहित्यिक एवम् साँस्कृतिक कार्यक्रममा चुम्लुङका १६ शाखासहित नेपाल र अन्य मुलुकहरूबाट पनि सहभागिता रहने जानकारी गराए । गोष्ठी याक्थुङ भाषाका वरिष्ठ साहित्यकार एवम् लेखक येहाङ लाओतीको प्रमुख आतिथ्यमा हुँदैछ । सिसेक्पा तङ्नाम तिथिअनुसार यो वर्ष शुक्रबार परेको छ । यो पर्वलाई अनिकालको अन्त्य र सहकालको आगमनको प्रतीकका रूपमा आदिवासी याक्थुङ लिम्बु समुदायले लिने गर्दछन् ।

Advertisement


यसैगरी, चुम्लुङ यूकेका महासचिव गणेश इजमले भाषा साहित्य गोष्ठीमा वाचन र प्रस्तुत गरिएका सिर्जनाहरूको संकलन गरेर पुस्तक समेत प्रकाशन गर्ने संस्थाको योजना रहेको सुनाए । गोष्ठीमा सहभागीले पाःलाम, ख्याली, हाक्पारे, कविता, गीत, मुक्तक या जुनसुकै विधामा रचना प्रस्तुत गर्न सक्ने भएपनि अनिवार्य रूपमा याक्थुङ पाःन्(लिम्बु भाषा)मा हुनुपर्ने प्रावधान रहेको महासचिव इजमले बताए । याक्थुङ लिम्बुमा तम्मरखोले, फेदाप्पे, पान्थरे, छथरे र याङ्रुपे गरेर पाँच भाषिकाहरू रहेको भाषाविद्हरू बताउँछन् । उनीहरू आफ्नो लिपिलाई सिरिजङ्गा लिपि भन्दछन् ।

सिरिजङ्गा लिपि ।


पछिल्लो पटक चुम्लुङले सन् २०१९ मा मेडस्टोनको याल्डिङमा आफ्नै स्वामित्वमा रहेको २५.३३ एकड क्षेत्रफलको चुम्लुङ देनमा सिसेक्पा तङ्नाम मनाएको थियो । यूकेमा वर्खा याम वार्षिक भेटघाटका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ । चुम्लुङले १२ वर्षअघिदेखि सामूहिक रूपमा भेला भएर सिसेक्पा तङ्नाम मनाउन थालेको हो । चुम्लुङ यूकेको स्थापना सन् २००३ मा भएको हो ।