April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विश्वव्यापी ढाका फोटो प्रतियोगितामा मुमिता तेयुङले बाजी मारिन्

विश्वव्यापी ढाका फोटो प्रतियोगितामा मुमिता तेयुङले बाजी मारिन्

विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१ तेह्रथुमकी मुमिता तेयुङ प्रथम भएकी छिन् । उनले अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै पहिलो भएकी हुन् ।

चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका प्रतियोगितमा हाल धरान बसोबास गरिरहेकी तेयुङले सर्वाधिक मत प्राप्त गरेकी थिइन् । शुक्रबार याक्थुङ लिम्बु समुदायको लोकप्रिय पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)को अवसरमा उद्योगको फेसबुक लाइभमार्फत् घोषणा गरिएको नतिजामा उनले सबैभन्दा धेरै लाइक् र सेयर प्राप्त गरेकी थिइन् ।

Advertisement


यसैगरी, प्रतियोगिताकी कम उमेर मध्येकी एक धरानकी निङ्वासाङ्मा इङ्नाम दोस्रो भएकी छिन् । तेस्रो स्थानमा भने धरानकै रोजानी तेयुङले आइन् । उनीहरूले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार बराबरको ढाका पोसाक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट फोटोग्राफीको अवार्ड भने सिक्किमका कर्णहाङ सुब्बाले हात पारेका छन् । विजेताहरूको घोषणा आयोजक संस्था उद्योगकी प्रोप्राइटर यमुना तुम्सा सङ्यक र विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका चोत्लुङ अर्वाड विजेता पेपराज माबुहाङले संयुक्त रूपमा गरेका थिए ।


नतिजा घोषण हुनुअघि गायक माबुहाङले आफ्नो चर्चामा आइरहेको गीत ‘चोत्लुङ पार्क’ सँगै पाःलाम, ख्याली गरी दर्जन बढी गीत सुनाएका थिए । मौलिक ढाकाका पहिरन र उत्पादनलाई प्रबद्र्धन गर्दै जातीय साँस्कृतिक पहिचानप्रति जागरण ल्याृउन प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी सदस्य नुमा तुम्सा सङ्यकले जनाइन् । विजेताहरूलाई साउन २२ गते विशेष कार्यक्रमबीच पुरस्कार प्रदान गर्ने उनले बताइन् । धरानको चतरा लाइनमा रहेको उद्योगले सिसेक्पा तङ्नामको अवसर पारेर उक्त दिनसम्म हरेक सामान खरिदमा १० देखि २० प्रतिशत छुटको समेत घोषणा गरेको छ ।