May 3, 2024, Friday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उर्लाबारीको पहिलो जाति धिमाल समुदाय भएको घोषणा

उर्लाबारीको पहिलो जाति धिमाल समुदाय भएको घोषणा

उर्लाबारी । नेपालको पूर्वी तराई क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आइरहेका आदिवासी धिमाल समुदायलाई उर्लाबारी नगरपालिकाले पहिलो जातिका रूपमा घोषणा गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौँ सभाले सो समुदायलाई त्यस क्षेत्रमा बस्ने पहिलो जाति घोषणा गरेको हो ।


घोषणा भएलगत्तै शुक्रबार धिमाल जाति विकास केन्द्रको अगुवाईमा उर्लाबारी चोकमा दीप प्रज्ज्वलन समेत गरिएको थियो । असार ३१ ग्ते बसेको सातौँ सभाले धिमाल समुदायलाई पहिलो जाति करार गरेको केन्द्रका महासचिव मातृका धिमालले जनाए । ‘नगरपालिकाको सातौँ सभाले धिमाल समुदायलाई पहिलो जाति घोषणा गरेको छ,’ उनले भने, ‘स्थानीय सरकारले यति गरेकोप्रति खुसी छौँ । तर यतिले मात्रै पुग्दैन । हाम्रो लडाइँ भनेको स्वायत्तता नै हो ।’ उनले झापा, मोरङ र सुनसरी धिमाल स्वायत्त क्षेत्रका रूपमा कायम हुनपर्ने आफूहरूको माग रहेको बताए ।

Advertisement

नगरपालिकाका मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारी समेत घोषाण पश्चातको कार्यक्रममा उपस्थित भएर ऐक्यबद्धता जनाएका थिए । मेयर फागोले आदिवासी धिमाल समुदायको प्राचीन कालदेखिको अस्तित्वलाई सम्मान गर्न पहिलो समुदाय भनेर घोषणा गरिएको बताए । कार्यक्रममा केन्द्रका सहअध्यक्ष कृष्ण बहादुर धिमालले नगरपालिकाको कार्यको प्रशंसा गर्दै आभार व्यक्त गरेको संगठन विभाग प्रमुख अजित कुमार धिमालले बताए । उनले धिजाविकेको केन्द्र र नगर समितिले संयुक्त रूपमा पहिलो नागरिक घोषणा गर्न माग गरेको जानकारी दिए । ‘अब समुदायको सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक स्तर उकास्न स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्छ,’ उनले थपे ।

दीप प्रज्ज्वलन

मधेशका लिम्बु समुदाय भनेर चिनिने धिमाल समुदायलाई तीन वर्षअघि पहिलो पटक दमक नगरपालिकाले पहिलो नागरिक घोषणा गरेको थियो । त्यसपछि, बेलबारी र पथरी शनिश्चरे नगरपालिकाले पनि घोषणा गरेको महासचिव मातृका धिमालले बताए । सन् २०११ को राष्ट्रिय जनगणनाअनुसार धिमाल समुदायको जनसंख्या १९,५३७ रहेको छ । तर, धिमाल जाति विकास केन्द्रले सो तथ्यांकलाई अस्वीकार गर्दै जनसंख्या ४०,००० हाराहारीमा रहेको बताउँदै आएको छ ।