April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ भनेकोमा युमा साम्योको आपत्ति

सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ भनेकोमा युमा साम्योको आपत्ति

साउदी अरब । महान् विभूति त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा राखिएको नाम सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ नामाकरण गर्न खोजेको भन्दै युमा साम्यो पक्षधरहरूले आपत्ति जनाएको छ । चार जातीय संस्थाहरूले सिरिजङ्गाको पहिचान र सावायेत्हाङकालीन इतिहास नामेट गर्ने गरी लिपिको नाम परिवर्तन गर्न खोजेको युमा साम्यो महासभाले आरोप लगाएको छ ।


सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासभाको अन्तर्राष्ट्रिय समन्वय समितिले चार किरातजन्य संस्थाहरूले साझा लिपि बनाउने नाममा सिरिजङ्गाको योगदान र मौलिक पहिचानको अवहेलना गरेको भन्दै विरोध गरेको छ । महासभाले चार किरातजन्य संस्थहरूले मात्रै नभई हिमालयन मूलावासी समुदायले नै लिपिको प्रयोग गर्न सक्ने तर साझा बनाउने नाममा अन्य नाम दिनु सर्वथा गलत भएको उल्लेख गरेको छ ।

Advertisement


‘सावायेत्हाङकालमा विकसित भएको त्येअ्सी सिरिजंगा सिं थेवेप्रति समर्पित यस सिरिजङ्गा लिपिलाई चारवटा संस्थाहरूले मात्रै नभई सम्पूर्ण हिमालयन मूलवासी समुदायले साझा लिपिका रूपमा प्रयोग गर्न सक्छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले, सिरिजङ्गाको नाममा फँुदो फुर्को जोडिरहन आवश्यक छैन ।’

म्हासभाका असंस अध्यक्ष नरेन्द्र माबोहाङ र महासचिव धनराज साम्याङ्खामले हस्ताक्षर गरेको विज्ञप्तिमा चार किरात संस्था र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रमुखहरूलाई सही मार्गमा हिँड्न पनि आग्रह गरिएको छ ।

एक साताअघि काठमाडौँमा भएको छलफलमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लङ, किरात सुनुवार सेवा समाज र किरात याक्खा छुम्माका प्रतिनिधिहरूले लिपिलाई किरात लिपि नामाकरण गरेर साझा रुपमा प्रयोग गर्ने बारे धारणा राखेका थिए । आदिवासी याक्थुङ लिम्बु समुदायको संस्था चुम्लुङ २०४९ मा लिपिको नाम किरात सिरिजंगा लिपि राख्ने संस्थागत निर्णय गरेको थियो । यायोक्खाले भने केवल किरात लिपि राखे पुग्ने धारणा व्यक्त गर्दै आएको छ । युमा धर्मावलम्बीहरूले भने भाषाको नाम याक्थुङ पाःन् र लिपिको नाम सिरिजङ्गा रहनुपर्ने मत राख्दै आएका छन् । त्येअङ्सी सिरिजङ्गा सिं थेवेको जन्म लिम्बुवानको याङ्वरक थुमको सिनाम तेल्लोक गाउँमा सन् १७०४ मा भएको इतिहासकारहरूले विभिन्न पुस्तकमा उल्लेख गरका छन् ।