April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
युमा नाम्साहाङ ओती

युमा नाम्साहाङ ओती

याक्थुङ(लिम्बू) जातिको मुन्धुम अनुसार ब्रह्माण्ड, जल,थल, वन जङ्गल, पसु पन्छी, किरा फट्याङ्रा, मनुष्य आदि सबैको आविष्कार अनि विकाश विभिन्न समयको काल खन्डमा आवश्यकता अनुसार तागेरा निङ्वाफु माङ्ले गर्नु भयो। याक्थुङ जाति र यसको सभ्यता विकाशको क्रममा पनि उनै तागेरा निङ्वाफुमाङको साम युमामाङको ठूलो भुमिका रहेको मुन्धुममा बुझ्न पाईन्छ।

पछि आफुले आविस्कार गरेका यी सबै आफ्ना सन्तानहरु चलायमान हुँदै जादा, जीवन चलाउदै जादा आई परेका सबै दु:ख कष्टका कुराहरुको समाधान गर्न पनि आवश्यकता अनुसार विभिन्न समयमा एक शुन्दर बुडि महिलाको रुप धारण गरि याक्थुङ लाजे र याक्थुङ जातिहरुमा प्रत्यक्ष दर्शन दिने अनि ज्ञान बुद्धि विबेकका कुराहरु दिदै आएको देखिन्छ।

Advertisement

यस्तै घट्ना क्रमहरु नै वास्तवमा मुन्धुम हुन। त्यसैले मुन्धुम येबा, साम्बा, फेदाङ्बा आदिले फलाक्नको लागि मात्र नभएर यो एउटा याक्थुङ जातिको मौखिक ईतिहास पनि हो। जुन ईतिहास बन्नमा हजारौ बर्ष लागेको अनुमान गर्न सकिन्छ। यस्तै मुन्धुम बन्ने घट्ना क्रमहरु हेर्दा युमा माङको अन्तिम पटक प्रत्यक्ष दर्शन जै जिते र खर्बले भन्ने याक्थुङ्बाहरुले पाएको भनिए पनि त्यो सत्य होइन कि जस्तो लाग्छ। किन होइन भन्ने बारे म आज एउटा लेख लेख्दै छु। जुन घट्ना युमा हेना मुन्धुममा पनि सुन्न पाईन्छ।

ताप्लेजुङ जिल्ला ईम्बिरि थाङ्वामा/ताम्वा(तम्बर) खोला थुम स्थित मा:पाङ्फे गाउमा बिक्रम सम्बत १९४२/४३ तिर तबेबुङ परिवारमा एक बालकको जन्म भयो। वहाँ चित्र धोज तबेबुङको कान्छा छोरा थिए। पहिलेको जमानामा छिट्टै विहे गरि दिने चलन थियो। वहाको पनि १४ बर्षको कलिलो उमेर मै फावा खोला कि यरङ/ बखिम थर कि कन्या संग विवाह गरि दिए। वहालाई १६ बर्षको हुदा युमा माङको प्रत्यक्ष दर्शन मिलेको थियो। यसरि युमा माङ्को शक्ति प्राप्त गरे पछि “युमा” उत्रिनु भयो। बुडा पाकाको भनाई अनुसार वहाँ उड्न सक्ने र पानी उमार्न सक्ने शक्ति भएका थिए रे। विज्ञानको युगमा यो भनाई अपत्यारिलो लागे पनि यो भनाईले वहा निकै शक्तिशाली थिए भन्ने कुरा चाहिँ स्पष्ट गर्छ।

युमामाङले तबेबुङ थरमा धेरै पहिले देखि पटक पटक शक्ति प्रदान गरेको देखिन्छ तर तबेबुङहरु सिधा सोझा भएको कारण हो या दुरदर्शीता अनि लेखपढ कम भएको कारण हो खासै चर्चा नपाएको देखिन्छ। तबेबुङ बुडापाकाहरुको भनाई अनुसार युमामाङ पहिले तबेबुङ्हरुकोमा आएर थाकथाक खिबोमा लामो समय तान बुनेर बसिन। पुर्खाहरुले उनिलाई चिनेन। वास्ता गरेनन। थान थपना दिन सकेनन। त्यसैले रिसाएर तिमिहरुको पछि सम्म फलिफाप हुदैन है भनेर सराप दिएर पान्थर छथर गईन। त्यै भएर हाम्रो वङ्समा फलिफाप हुदैन भन्ने कुरा सुनाउछन। तम्बर खोला थुममा निकै राम्रो मानिएका मुन्धुमदाङ्बा फेदाङ्मा डम्बर बहादुर महरेसङ(स्याल च्याक) का अनुसार तबेबुङहरु युमामाङको कुबु सिङ हो रे। यसको अर्थ के हो मलाई खासै जानकारी छैन।

यी सबै कुराहरु सुने पछि मैले पनि केही अनुसन्धान गर्न थाले। तबेबुङका पुर्खा ता:गासेनहाङको पालामा सेमुक्तु मुक्तु मुक्कुमलुङ थेगु तल गाई हराउदा युमामाङ्ले सपनामा दिएको दर्शन। त्यस पछि खेबेङ निवासी चन्द्रवीर तबेबुङ प्रख्यात युमा उत्रिए। वहाँको विशाल युमा थान देख्ने र पुजा गर्ने अझै छन । हाल वहाँको सन्तानलाई माङथुक्पा खाल भनिन्छ। मा:पाङ्फेमा त झन युमाको प्रत्यक्ष दर्शन पाएको कुरा छ। जुन ईतिहास म तल लेख्दै छु। त्यस पछि खेबेङ मै म स्वयंको बोजु लछि माया तुम्बाहाङ्फे(तबेबुङ) युमा हुनुहुन्थ्यो । अहिले पछिल्लो समय मा:पाङ्फेमा चन्द्र तबेबुङ पनि युमा नै उत्रिनु भएको छ। यी घट्ना क्रमलाई हेर्दा तबेबुङहरुमा युमा थान्छिङ्मा गरेको रहेछ भन्ने बुझ्न गारो हुदैन। सायद त्यै भएर पनि कुबु सिङ भनिएको हुन सक्छ।

एक दिनको कुरा हो। मा:पाङ्फे स्थित आफ्नो निवासमा बखत बहादुर तबेबुङ विरामी परे। त्यो समय खाना पकाउन अहिलेको जस्तो आधुनिक भाडाकुडा थिएनन। प्राय माटोको भाडा प्रयोग हुन्थ्यो। विरामी भएकाले उनका श्रीमतिले माटोको भाडा हाडिमा गिलो भात पकाईन। पस्कन लाग्दा अचानक हाडि प्वाल पर्यो। भाडा प्वाल परे पछि श्रीमति लाजले हो या डरले त्यहाबाट भागिन। विरामी नै भए पनि सकि नसकी उनी श्रीमति खोज्न निस्के। वरपर सबै तिर सोध्दै खोज्दै जादा तल याक्चङ भन्ने ठाउँ पुगे। त्यहा पुग्दा तिम्रो श्रीमति मेथेम खोला पारी, हुहु डाडा तल ओराडमा लुकेर बसेको छ भन्ने आवाज अचानक सुने। उनी ओराड तिर लागे। ओराडमा पुग्दा श्रीमति नभएर सुनैसुनको गहनाले सजिएकी सारै राम्री अपरिचित तरुनी देखा परिन। उनी छक्क परे। वहाँलाई ती तरुनिले चिनेको आफ्नै मान्छे जस्तो गरेर हामी अब हाम्रो घर जाउ ल भनेर भने। यति भन्दा सायद माङको शक्तिले होला तरुनीले जे भने पनि हुन्छ मात्र भन्ने भैसकेका थिए।

अब दुई जना त्यहाबाट बाटो लागे। तरुनीको पछि लागेर हिड्दै आए। आउदा लप्सी बोटे खेत आई पुगे। त्यस ठाउँ आई पुग्दा एका तिर खोल्सी र अर्को बायाँ तिर जाने बाटो आयो। त्यहा रोकिएर तरुनिले अब हामी संगै जानु हुन्न। मान्छेले देखे भने लाज हुन्छ। त्यसैले म यो खोल्सिको बाटो भएर घर आउछु। तिमी चाहिँ यो बाटै बाटो भएर घर आउनु। बाटोमा कसै संग नबोली, केही नखाई आउनु है भनेर भनिन। यति भनेर तरुनी खोल्सी तिर लागिन तर वहाँ चाहिँ बाटैबाटो हल्ला गर्दै, साईसाई सुईसुई गर्दै, गित गाउदै भक्त बहादुर आन्छङ्बोको घर आई पुगे। उकालो बाटो निकै तिर्खा लागेको थियो। एक लोहोटा पानी मागेर पिए। तिर्खा मेटेर बाटो लागे। आफ्नो घर देखिने ठाउमा पुगे पछि घर तिर हेरे। उनले घरको टोल भरी बादरै बादरले भरिएको दृश्य देखे। छक्क पर्दै घर पुगे।

घर पुग्दा तरुनी देखा परिनन। बाटो तिर आउदै होलिन भनेर एक्छिन पर्खे। नआए पछि किन हो किन घर भित्र खोज्ने विचार गरे। घर भित्र सबै तिर खोज्दै जादा घरको कुनामा बार बेर गरेर पुजा गर्न बनाईएको सानो थान भित्र पो बसेर रोइ रहेको स्थितिमा देखा परिन। उनले किन रोएको भनेर सोध्दा मैले भनेको सबै कुराको पालना नगरी आयौ। मेरो चित्त दुख्यो भनिन र त्यहाबाट अलप भईन। त्यति हुने बित्तिकै बखत बहादुर काम्न थाले। उसले काम्दै दियो बत्ति बाल्नु भने। त्यो समयमा प्राय याक्थुङहरुको घरमा गाउँ भैंसी पाल्ने चलन त्यति थिएन। बरु कुखुरा, बाख्रा, सुङ्गुर धेरै पाल्ने चलन थियो। त्यसैले दियो बाल्न घिउ छैन। तेल पनि छैन भन्ने भयो। त्यति हुदा सम्ममा वहाको बोली बन्द भई सकेको थियो। त्यस पछि ईशाराले मात्र बोल्न सक्ने भए। ईशारा दिदै वहाले त्यो घैलाको पानीमा बत्ति बाल्नु भनेर घरका मान्छेलाई भने। घरका मान्छेले पनि त्यसै गरे। यसरी घैलाको पानीमा बालेको बति ७ दिन सम्म पनि बलि नै रह्यो। वहा भित्र यसरी युमा माङ्को शक्ति प्रवेश गर्यो।

यसरी शक्ति प्राप्त भएको कुरा टाढा टाढा सम्म जताततै चर्चा हुन थाल्यो। वहालाई युमा भनेर पुज्न र मान्न टाढा टाढाबाट मान्छेहरु भक्तजनको रुपमा आउन थाले। शक्तिको चर्चाले अझ व्यापकता पाउदै लग्यो। यहि क्रममा यो कुरा नेपाल खाल्डोमा रहेका तातकालिन राजा त्रिभुवनकोमा पनि खवर पुग्यो। यसरी याक्थुङ लाजेमा शक्तिशाली व्यक्तिको उदय भएको समाचारले त्रिभुवन सोचाइमा परे किन कि याक्थुङ लाजे र यहाका याक्थुङहरु अझै पनि पुर्ण तरिकाले नेपाल देशमा नरहनका लागि पटक पटक विद्रोह गरि रहेका थिए। त्यसैले राजा त्रिभुवनलाई शक्तिशाली व्यक्तिको उदय पटक्कै मन परेन।

राजा त्रिभुवनले बखत बहादुरलाई मार्ने निधो गरे। त्यस बेला बाटोघाटोको राम्रो व्यवस्था थिएन। नेपाल देखि याक्थुङ लाजे पुग्न कैयौ दिन पैदल यात्रा गर्नु पर्दथ्यो। राजाको निर्देशनमा बखत बहादुरलाई मार्न १२ जना पुलिस नेपालबाट याक्थुङ लाजे पैदल यात्रामा निस्के। करिब २ हप्ताको यात्रा पछि ती पुलिसहरु मा:पाङ्फे पुगे। सायद युमामाङको शक्तिले हुन सक्छ ती पुलिसहरुले उनलाई मार्ने आट गर्नै सकेनन। आफुलाइ मार्न नसके पछि उनले पुलिसहरुलाई राम्रो सम्झाई बुझाई गरि पाहुना जस्तै सत्कार गरि उल्टै रु.२५० काचो पैसा खर्च दिएर फर्काए। यसरी फर्काउदा आफु यो दिन यो बारमा राजालाई भेट्न आउछु भन्ने समाचार पठाए।

समाचार दरबारमा पुग्यो। राजा त्रिभुवनले भनेको मितिमा भेट्नालाई पुरै तयारी गरि उक्त दिन पर्खेर बसे। जुन दिन आउनु पर्ने थियो। त्यो दिन सबै राजा रानी तामझामका साथ भेटघाटको लागि सवार भए तर बखत बहादुर आएनन। यसरी नआए पछि राजा रिसले चुर भए। त्यो दिन पुरै नेपाल खन्ड र दरबारमा कम्पन आउने जस्तो अनि हावा हुन्डरी उथल पुथल भयो। यस्तो भए पछि राजाले हैन यो मान्छे साच्चि दैवी शक्ति पाएका शक्तिशाली साक्षात भगवानको रुप हुन कि के हो भन्ने मनमा चिसो पस्यो। उसले अब यसलाई फेरि एक पटक परीक्षा लिने र पास भए ठिकै छ नत्र मारी दिने भनेर दरो निर्णय गरे। निर्णय अनुसार राजाले पुरै हातहतियार सहित पुलिस फेरि पठाए। यसरी पठाउदा ७ तोला सुन र रु.७०० काचो पैसा पनि बोकाई पठाए। यो तिमिहरुले लगेको कुराहरु उसले चाल पायो भने उतै दिनु र त्यसलाई लिएर आउनु। यदि चाल पाएन भने ठाउका ठाउँ गोलि हानि मारेर आउनु भनी आदेश दिए।

लेखक मान तबेबुङ

पुलिसहरु नेपाल खन्डबाट तयारिका साथ याक्थुङ लाजे हिडे। पुलिसहरु आउने क्रममा तल हाङ्दिङ्बा भन्ने ठाउमा आई पुग्न लाग्दा खेरी आफुलाई मार्न आउदै गरेको सबै कुरा उनले चाल पाए। अनि,वहाले गाउघर,वरपर छरछिमेकका सबै बुडापाका भलादमि पुरुष महिला अनि युवाहरु बटुलेर यसरी मार्न आउदै गरेको कुरा सुनाए। उनले उता हाङ्दिङ्बा तिर नै गएर उनिहरुलाई लिएर आउनु भनी पठाए। सबै हाङ्दिङ्बा तिर झरे र ती पुलिसहरुलाई भेटे। उनिहरुले हामी तपाईहरुलाई लिन बखत बहादुरले पठाएको भनेर भने। कसरी चाल पायो भनेर पुलिसहरु छक्क परे। पुलिसहरु लिएर गाउका सबै मान्छे थान भएको तिर आए। त्यहा बखत बहादुरले पुलिसहरुलाई राजाले आफुलाई मार्न पठाको र के के पठाएको छ भन्ने कुरा सबै सुनाए। यती सुनी सके पछि यो मान्छे दैवी शक्ति प्राप्त गरेका शक्तिसाली नै रहेछन। मार्नु हुन्न। उतै दरबारमा लगेर लगेर जानु पर्छ भन्ने निर्णय गरे। राजाले लिएर आउनु भन्ने आदेश बक्सेको छ भन्दै आफुहरु संगै नेपाल जान अनुरोध गरे। उनले नेपाल जाने निर्णय गरि हुन्छ भने।

झन्डै १५ दिनको लामो यात्रा पछि काठमाडौ नेपाल पुगे। पुलिसहरुले वहालाई राजा भेट्न दरबार लगे। राजा रानिको दर्शन भेट गरे। यसरी भेट हुदा राजा त्रिभुवनले वहाको शिरमा उज्यालो घाम झुल्के प्रकाश जस्तो देखे रे। यस्तो देखे पछि राजा पनि अचम्मित हुँदै यी साधारण मान्छे होइनन रहेछ भन्नेमा पुगे। अनि सबै भाईभारदारलाई भेला गरे। त्यस बेला पान्थर, तेह्रथुम तिरका केही याक्थुङ्बाहरु पनि दरबारमा काम गर्थे। राजाले तिनीहरुलाई बोलाएर सोधे। तिमिहरुको भाषामा घामलाई के भन्छौ भनेर सोधे। “नाम” भन्ने जवाफ पाए। त्यस पछि छोरा वा बच्चालाई के भन्छ भन्दा “सा” भन्ने जवाफ पाए। राजालाई के भन्छ भन्दा “हाङ” भन्ने उत्तर पाए।घाम जस्तै उज्यालो बल्ने शक्ति भएकाले घामको छोरा जस्तै मानेर यिनको नाम आज देखि “नाम्साहाङ” हो है भनेर राजा त्रिभुवनले नया नाम दिए। यसरी बखत बहादुरबाट नाम्साहाङ भए।

त्यस पछि राजा त्रिभुवनले सुनको मुर्ती, चादिको मुर्ती, बर्छा, निशान, खड्ग, तलवार, ढाल र पुजाको सरसामान सहित भारी बोकाएर भरौटे अनि पुलिस सेना समेत गरि उसको आफ्नो ठाउमा पुर्याएर आउनु भनेर आदेश दिए। यसरी फर्कने क्रममा तेह्रथुमको बाटो भएर आउनु पर्दथ्यो। सबै भरिया, पुलिस सेना थाकेर तिर्खाले प्याक प्याक भए। यो देखेर वहाले सोधे। तिमिहरु पानी पिउछौ? सबैले हजुर पिउने भने पछि नया पानीको धारा बनाई पानी पिलाए। त्यै धारालाई अहिले वहाको नामबाट नान्साहाङ धारा भने। यसो भन्दा भन्दै पछि अपभ्रम्स भएर नाम्जाङ धारा हुन गयो। उक्त धारा भएको गाउलाई पनि अहिले नाम्जाङ गाउँ भन्ने गरेको पाईन्छ।

अब त्यहाबाट घर पुगे पछि युमा थानमा सबै सरसामान सजि सजाउ गरेर राखी दिए पछि पुलिस सेनाहरु नेपाल फर्के। उक्त थानमा याक्थुङ जाती मात्र नभएर गैर याक्थुङ जातिको पनि आस्था राख्ने, मान्ने, पुज्ने काम हुन्थ्यो। त्यसको प्रमाण स्वरुप लिला राम क्षेत्रिले नाम नै कुदेर चढाएको यो कमान्डलुलाई लिन सकिन्छ। वहाले जहाँ युमामाङको दर्शन पाए। त्यस ठाउमा ढुङ्गाको गारोले बनेको पुजा गर्ने थान बनाए। अहिले संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको छ। गाउँ कै छेउमा पहराबाट पानी आउने स्थानमा एउटा थान बनाई  धाराको स्थापना गरे। त्यसलाई अहिले सेङ्वा थान धारा भनिन्छ। यस सेङ्वा थान धारालाई पनि संरक्षण र स्तरोन्नति गर्न सके राम्रो हुने देखिन्छ। त्यस समयमा तम्बर खोला तिर काठको राम्रो काम गर्ने कर्मि नभएकोले पान्थर, तेह्रथुम तिरका भक्तजनहरुले आफै आएर काठ कुदेर बनाइ दिएको आखी झ्याल युमा थान भएको घरमा अझै छ। उक्त थान पनि संरक्षणको पर्खाई मै छ। 

वहा यसरी युमाको रुपमा उदाउदा र स्थापित हुँदै गर्दा उता पान्थरमा फलाम सिङ (फाल्गुनन्द) लिङ्देन पनि पल्टनमा हुदा वर्माको ऐरावती नदिको छेउमा रहेको जसमनि पन्थका साधुबाट दिक्षित भई गाउँ फर्केर आए। समाज सुधार गर्ने विचार लिएर सत्यहाङ्मा धर्मको सुरुआत गरे। याक्थुङ लाजे भरी उक्त धर्म फैलाउने काममा लागेका थिए तर तम्बर खोला थुममा त्यति प्रभाव पारेन। त्यसको मुल कारण नाम्साहाङ तबेबुङको कारणले पनि हो भनेर गाउका जानकार बुडापाकाहरुहरु बताउछन। त्यसैले आफ्नो मौलिकता बचाउन वहाँ पनि लागि परेका थिए भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ। वहाले याक्थुङ लाजे (लिम्बुवान) को विभिन्न ठाउमा पुगेर युमा धर्म र युमा मुन्धुम र उपदेशहरु सुनाउदै हिडे। पछि २००७ सालमा आफ्नो निवास मा:पाङ्फे मै ६३,६४ बर्षको उमेरमा परलोक भए।

त्यसैले मेरो विचारमा वहाँ नै युमा माङ्ले अहिले सम्म अन्तिम पटक प्रत्यक्ष दर्शन दिएको व्यक्ति हुन भन्ने मलाई लाग्दछ। पछि अझै कसैले दर्शन पाए भने यो पनि अन्तिम हुने छैन। यो घट्ना एउटा मुन्धुम बनेर रह्यो। अहिले यहि घट्ना मुन्धुममा पनि आउने गर्दछ। त्यसैले मुन्धुम विभिन्न समयमा बन्ने एउटा ईतिहासको मौखिक दस्तावेज पनि हो जस्तो लाग्छ। अब हामिले यस्तो मौखिक मुन्धुमि ईतिहासको खोजी खोजि जगेर्ना गर्नु पर्ने देखिन्छ।

अहिले वहाको नाति चन्द्र तबेबुङ पनि १६-१७ बर्षको उमेरमा युमा उत्रनु भएको छ। वहाको पनि स्कुलको कक्षा कोठामा पढ्दै गर्दा युमा साम चडेर कामि निस्केको रोचक कहानी छ। पछि कुनै समय लेख्ने नै छु। बाजेले बनाएको युमा थानमा नै पुजा आजा गर्दै आउनु भएको छ। जिर्ण अवस्थामा रहेको सबै यी थान र स्थानहरुलाई तबेबुङ बङ्सले छिटै पुन निर्माण गर्ने छन। युमा माङ्ले हामी सबै याक्थुङ जाती अनि गैर याक्थुङ जाती सबैको कल्याण गरुन। सेवारो!

फक्ताङलुङ-३ खेबेङ।
हाल-युके