जसपामा यादव पक्षले बहुमत ल्याउँदै
जनता समाजवादी पार्टी (जसपा) का ५१ जना कार्यकारिणी सदस्यमध्ये ३५ जनाले निर्वाचन आयोग पुगेर उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्ने भएका छन् ।
आयोगमा आज ५१ मध्ये ३५ जना कार्यकारिणी सदस्यले हाम्रो पक्षमा हस्ताक्षर गर्नेछन्। रेशम चौधरी पनि हाम्रो पक्षमा हस्ताक्षर गर्न आउँदै हुनुहुन्छ’, यादव पक्षका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
५१ मध्ये ३३ ले यादव पक्षमा हस्ताक्षर गरेपछि आधिकारिक रूपमा जसपा यादवको भएको छ। यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन र राजकिशोर यादव पक्षमा आएका छन् । अन्य सदस्य पनि धमाधम निर्वाचन आयोग पुगेर हस्ताक्षर गर्दैछन् ।
जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको थियो । पार्टी आधिकारिकतालाई लिएर उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ ।
आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ ।
आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ आयोगले गर्न लागेको हो ।
जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन् । ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ ।
अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो । आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ ।



प्रतिकृया दिनुहोस्