April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जसपामा यादव पक्षले बहुमत ल्याउँदै

जसपामा यादव पक्षले बहुमत ल्याउँदै

जनता समाजवादी पार्टी (जसपा) का ५१ जना कार्यकारिणी सदस्यमध्ये ३५ जनाले निर्वाचन आयोग पुगेर उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्ने भएका छन् ।

आयोगमा आज ५१ मध्ये ३५ जना कार्यकारिणी सदस्यले हाम्रो पक्षमा हस्ताक्षर गर्नेछन्। रेशम चौधरी पनि हाम्रो पक्षमा हस्ताक्षर गर्न आउँदै हुनुहुन्छ’, यादव पक्षका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

Advertisement

५१ मध्ये ३३ ले यादव पक्षमा हस्ताक्षर गरेपछि आधिकारिक रूपमा जसपा यादवको भएको छ। यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन र राजकिशोर यादव पक्षमा आएका छन् । अन्य सदस्य पनि धमाधम निर्वाचन आयोग पुगेर हस्ताक्षर गर्दैछन् ।

जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको थियो । पार्टी आधिकारिकतालाई लिएर उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ ।

आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ ।

आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ आयोगले गर्न लागेको हो ।

जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन् । ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ ।

अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो । आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ ।