May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मौलिक स्थाननाम फर्काउन समुदायको प्रयासदेखि कानूनी उपचारसम्म आवश्यक : अभियन्ताहरू

मौलिक स्थाननाम फर्काउन समुदायको प्रयासदेखि कानूनी उपचारसम्म आवश्यक : अभियन्ताहरू

फेदेन । अप्रभंशित स्थान नामहरू साविक अवस्थामा फर्काउन समुदायले सामूहिक प्रयाससँगै कानूनी र संवैधानिक उपाचारको बाटो लिनुपर्ने साँस्कृतिक अभियन्ताहरूले बताएका छन् । साँस्कृतिक पुनःजागरण अभियानसम्बद्ध अभियन्ताहरूले मौलिक भाषामा नाम कायम गर्न एकसाथ सबै ठाउँबाट साँस्कृतिक औपनिवेशीकरणविरुद्ध सामुदायिक अभियान सुरु गर्नुपर्ने राय राखेका हुन् ।

अभियानले शुक्रबार आयोजना गरेको मेटाइएका मौलिक स्थाननाम र तिनको पुनःस्थापना विषयक भर्चुअल कार्यक्रममा बोल्दै सहायक प्राध्यापक डा. तारामणि राईले अप्रभंशित नामहरूको सूची बनाएर कानूनी र संवैधानिक उपचार खोज्नुपर्ने बताए । ‘पहिलो कुरा त समुदाय आफैँ सचेत हुनुपर्छ । मातृभाषाको संरुक्षण गर्न समुदायको नीति र कार्यक्रम हुनुपर्छ । हाम्रो ऐतिहासिक थातथलोमा अप्रभंश, परिवर्तन या रुपान्तरण गरिएका नामहरूको खोज अनुसन्धान गरेर सूची बनाउनुपर्छ,’ डा. राईले भने, ‘त्यसपछि, मानकीकरण गरेर नाम पुनःस्थापना गर्न राज्यलाई दबाब दिन संविधान र कानूनमा व्यवस्था भएका प्रावधानहरू टेकेर मौलिक पुरानो नाम फर्काउन सक्नुपर्छ ।’ त्रिविमा प्राध्यापनरत डा. राईले भौगोलिक नामहरूको तथ्याङ्क संकलन गर्न प्राविधिक रूपमा काम गर्नुपर्ने समेत राय राखे ।

Advertisement

भर्चुअल कार्यक्रममा सहभागीहरु ।

डा. राईले पूर्वी लिम्बुवान क्षेत्रको पान्थर जिल्लामा भाषाविद् दिलेन्द्र कुरुम्वाङले स्थलगत अध्ययन गरेर संकलन गरेका परिवर्तित, अप्रभंशित र र अर्थ पत्तो नलागेका करिब १५१ स्थान नामहरूको सूची समेत प्रस्तुत गरेका थिए । उनले औपनिवेशीकरणबाट मुक्त हुन पनि साँस्कृतिक जागरण महत्वपूर्ण हुने धारणा राखे । उनका अनुसार सबैभन्दा पहिले सन् १९२३ मा स्थान नामको व्यवस्थित र संस्थागत रुपमै अध्ययन गर्न इङ्लिस प्लेस नेम सोसाइटी(इपीएनएस) स्थापना भएको बताए ।

कार्यक्रमको औचित्यामाथि प्रकाश गर्दै लिम्बु भाषा लिपि विकास संस्थाका अध्यक्ष दिलेन्द्र कुरुम्वाङले साँस्कृतिक प्रतिरोधका लागि पुनःजागरण अभियान सुरुवात भएको प्रष्टाउँदै लिम्बुवानका नौ जिल्लामा नै एक साथ प्रतिरोधी कार्यक्रम हुनुपर्ने औँल्याए । ‘२०७६ मा ताप्लेजुङ र पान्थरको सीमामा रहेको तिम्बुङ वरकलाई विष्णु पोखरी बनाउने प्रयासको प्रतिरोध ग¥र्यौँ । लिम्बुवान स्प्रिङ आन्दोलनका साथीहरू पनि लागिपरे । त्यसपछि, केही महिनापछि हामीले फेरि पान्थरको हिलिहाङ गाउँपालिकामा रहेको मिलुङ वाधाम्(झरना)को नाम अप्रभंश हुन नदिन तातियौँ । तेह्रथुम, इलाम लगायतका स्थानमा समाधिस्थलदेखि लिएर अन्य अतिक्रमणका विरुद्ध अभियानहरू छेडिए,’ उनले भने, ‘यी सबै प्रयासहरूलाई एक ठाउँमा ल्याउन साँस्कृतिक पुनःजागरण अभियान ल्याएका हौँ । पछिल्लो समय मुक्कुमलुङ पुनःस्थापनासम्मका बृहत आन्दोलन पनि भए ।’ कुरुम्वाङले याक्थुङ पहिचान जोगाउन पनि पुरानो मौलिक स्थाननाम कायम गर्न आवश्यक रहेको बताए । उनले स्थानीय सरकारमा सूची बनाएर ज्ञापनपत्रमार्फत् पुरानो नाम यथावत् राख्न पहल गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रम अयिभानका संयोजक मधुराज केरुङ ‘केसाम्’ को अध्यक्षतामा तथा सदस्य कमलराज नेम्वाङको सञ्चालनमा भएको थियो ।