April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली राष्ट्रवाद एकल जातिवादमा आधारित दर्शन हो – प्राध्यापक कर्ण

नेपाली राष्ट्रवाद एकल जातिवादमा आधारित दर्शन हो – प्राध्यापक कर्ण

विजयपुर । नेपालको राष्ट्रवाद एकल जातिवादमा आधारित भएको भन्दै बहुलता अस्वीकार गरेको प्राध्यापक विजयकान्त कर्णले आरोप लगाएका छन् । उनले एकल नश्लवादी शाषकको स्तुतिगान मात्रै गर्ने भएका कारण नेपालको राष्ट्रवादले महेन्द्रवादी चिन्तन मात्रै बोकेको समेत बताए ।

जनता समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिले प्रत्येक साता नियमित रूपमा आयोजना गर्दै आएको लिम्बुवान भर्चुअल संवादको १८ औँ श्रङ्खलामा बोल्दै डेनमार्कका लागि पूर्व राजदूत कर्णले सामाजिक साँस्कृतिक विविधतालाई नजरअन्दाज गर्ने गरी राष्ट्रवादको कार्डलाई एकोहोरो प्रयोग मात्रै गरेकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने – ‘नेपालमा राष्ट्रवादले विविधता सम्बोधन गरेको छैन । पृथ्वीनरायण शाहको दिव्योपदेश, जंगबहादुरको मुलुकी ऐन, महेन्द्रवादी चिन्तन हुँदै ओली प्रवृत्तिसम्म आइपुग्दा एकल साँस्कृतिक चिन्तन मात्रै छ । आदिवासी, जनजाति, मधेशी, दलित शिल्पी र सिमान्तकृतले राष्ट्रवादलाई आत्मसात गर्न सकेका छैनन्,’ प्रा. कर्णले भने, ‘हाम्रो भाषा र सँस्कृतिले राष्ट्रिय पहिचानको मान्यता पाउन सकेको छैनन् । हाम्रोबारे हामीले पाठ्यक्रममा पढ्न पाउँदैनौँ । हाम्रो मस्तिष्क औपनिवेशीकरणको चपेटामा छ ।’ लेखक समेत रहेका कर्णले उत्पीडनबाट मुक्ति पाउन सङ्गठित बोद्धिक र भौतिक विद्रोहका लागि नेपाली शाषकहरूले उक्साइरहेको समेत बताए । उनले अधिकारका लागि आन्दोलन गर्दा सत्ताले नरसंहार मात्र उत्रेको तीतो पोखे । उनले थपे, ‘यहाँ आन्दोलनमा मान्छे मर्छन् राज्यलाई वास्ता हु्न्न । गाई मार्दा तत्काल मान्छे पक्राउ गर्ने राज्यले नरसंहार गर्ने मान्छे पक्रन सक्दैन । यस्तो लाग्छ, शाषकको नशामा खुन बग्छ सिमान्तकृतको नशामा पानी ।’

Advertisement

लिम्बुवान भर्चुअल संवादमा सहभागीहरु ।

यस्तै, पार्टीका केन्द्रीय सदस्य एवम् किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले सहअस्तित्वबादमा आधारित भएर प्रदेशहरूको स्थापना गरिनुपर्ने बताए । उनले २०७२ मा संविधान निर्माण गर्नुभन्दा अगाडिको अवस्थामा फर्केर तत्कालीन समयमा उठेका असन्तुष्टिहरू जतिखेर पनि छताछुल्ल हुन सक्ने बताए । ‘तत्कालीन समयमा तीन दलले पहिचानका मुद्दा लगायतका राजनीतिक मागहरूलाई बेवास्ता गरेर संविधान जारी गरे । हामी अहिले पनि संशोधनको माग राखेर आन्दोलित अवस्थामा छौँ । यो असन्तुष्टि जतिखेर पनि छताछुल्ल हुन सक्छ,’ उनले भने । नेता राईले पूर्वमा लिम्बुवान र किरात प्रदेश निर्माण आन्दोलनमा कुनै समस्या नरहेको भन्दै एक अर्काप्रति सम्मान र सहयोग गरेर देशमा दश जोड एक प्रदेशहरू निर्माण हुने विचार राखे ।

यसैगरी, लिम्बुवान राष्ट्रिय समितिका सल्लाहकार शकुन्तला सुब्बाले राजनीतिक शक्ति आर्जनका लागि साँस्कृतिक पुनःजागरणको अभियानलाई जोड्नुपर्ने बताइन् । ‘साँस्कृतिक पूँजीलाई राजनीतिक शक्तिका रूपमा जोड्दै पहिचानलाई अधिकारको आन्दोलनमा रुपान्तरित गर्नुपर्छ,’ उनले भनिन् । नेतृ सुब्बाले महिलाले साहस गरेर राजनीतिमा अघि बढ्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा पार्टीका तेह्रथुम जिल्ला अध्यक्ष भगवान रिजालले निर्वाचनका लागि तल्लो तहबाट केही समयभित्रै काम गर्ने गरी दुई नगरपालिका र चार गाउँपालिकामा सङ्गठन सुदृढीकरणको अभियान तीव्र पार्ने बताए ।

संवाद जसपा, लिरासका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षता तथा मुख्य सचिव केदार धिमालको सञ्चालनमा भएको थियो ।