April 11, 2026, Saturday
२०८२ चैत्र २८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तेह्रथुमकाे मियङलुङमा  युमा धर्म लेख्नेबारे छलफल

तेह्रथुमकाे मियङलुङमा युमा धर्म लेख्नेबारे छलफल

मियङलुङ । राष्ट्रिय जनगणनामा युमा धर्म लेख्ने बारे तेह्रथुम जिल्लाको मियङलुङ बजारमा एक दिने सम्मेलन सम्पन्न भएको छ ।

युमा साम्यो महासभा नेपाल जिल्ला तदर्थ समिति तेह्रथुमका अध्यक्ष लालकुमार पयाङ्गुको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनले आउँदाे राष्ट्रिय जनगणनामा धर्मको महलमा युमा लेख्ने समेत निर्णय गरेको छ ।

Advertisement

युमा साम्यो महासभा जिल्ला तदर्थ समिति तेह्रथुमको आयोजनामा सम्पन्न उक्त सम्मेलनमा मियङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जय तुम्बाहाङ्फेको प्रमुख आतिथ्यता र लालीगुराँस नगरपालिकाका नगरप्रमुख एवं मुन्धुमविज्ञ अर्जुनबाबु माबुहाङको विशेष आतिथ्यता रहेको थियो ।

नेपाली कांग्रेसका सभापति केदार ढुङ्गाना, नेकपा माओवादी केन्द्र, तेह्रथुमका प्रतिनिधि तेजमान कन्दङवा, आदिवासी जनजाति महासंघ तेह्रथुमका अध्यक्ष बलदेव तुम्बाहाङ्फे, तेह्रथुम बहुमुखी क्याम्पसका उप प्राध्यापक देवप्रकाश कन्दङवा, तुम्याहाङ लोकबहादुर फुदोङ, युमा साम्यो महासभाका कार्यालय सचिव भीमसेन लिङदमको पनि आतिथ्यता रहेको सम्मेलनमा याक्थुङ लिम्बूहरुले मानिरहेका विभिन्न धर्महरुको चर्चा–परिचर्चा गरिएको थियो ।

मन्तव्यका क्रममा सम्मेलनका प्रमुख अतिथि सञ्जय तुम्बाहाङफेले आफू राजनीतिक नेता भएकोले सबै धर्महरूप्रति बराबर सम्मान राख्ने गरेको भएतापनि आफ्नो मौलिक धर्म नत्यागेको बताए ।

कुनै पनि शोधकर्ताले याक्थुङ खोजे पेगिफाङसामहरूले फलाक्दै ल्याएको मुन्धुमहरूमा भेटिने तर किरात खोजे हिन्दू धर्मका संस्कृत ग्रन्थहरूमा पाइने बताउँदै किरातको तथ्याङ्क बढी देखाएर सरकारी–गैरसरकारी देशीविदेशी परियोजनाहरू हात पारी जागिर खान र राजनीतिमा भोट बटुल्न किरातको पक्षमा चुम्लुङका विद्वानहरूले वकालत गर्ने गरेको जिकिर कार्यक्रमका विशेष अतिथि मुन्धुमविज्ञ अर्जुनबाबु माबुहाङले आराेप लगाए ।

मुन्धुमविद् अर्जुन माबुहाङ ।

आदिवासी जनजाति महासंघका प्रतिनिधि बलदेव तुम्बाहाङफेले याक्थुङ लिम्बू जातिको मौलिक धर्म युमा नै भएकोमा अल्मलिन नहुने बताए । त्यसैगरी तेह्रथुम बहुमुखी क्याम्पसका उप प्राध्यापक देवप्रकाश कन्दङवाले किरात हाम्रो शब्दकोश र मुन्धुममै नभेटिने हुनाले याक्थुङ र युमाले नै गर्व एवं आत्मसन्तुष्टी मिल्ने आशय व्यक्त गरे ।

याक्थुङहरूको धर्म त युमा हो भनेर प्रचारए गर्दा ‘एक्लै’ भइने भन्दै खिस्सी गर्ने गरेकाे घटना जिल्ला सभापति पृथ्वीबहादुर तुम्बाहाङ्फेले आफ्नो मन्तव्यका क्रममा स्मरण गरे ।

नेपाली कांग्रेसका प्रतिनिधि केदार ढुङ्गानाले याक्थुङ लिम्बूहरुले मौलिक पहिचान बोक्ने धर्मको खोजी गर्नु सकारात्मक भएको बताए । त्यस्तै, माओवादीका प्रतिनिधि तेजमान कन्दङ्वाले राजनीतिमा जे भएपनि आफू युमा धर्मी नै रहेको स्वीकार गरे ।