April 21, 2024, Sunday
२०८१ बैशाख ९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भाईटिका लगाउँदा लिम्बुहरूको निधार पिल्सिन्छ र ?

भाईटिका लगाउँदा लिम्बुहरूको निधार पिल्सिन्छ र ?

हरेक पटक दशैं आउँछ लिम्बु समाजमा आफूलाई ठेक्केदार सम्झिने केहीहरु धारेहात लगाउँछन् । ए पख्लास, कसैले दशैं मनाउला । तीज आउँछ उहीँ गर्छन् । तिहार आउँछ एकथरी उस्तैहरु अघि सर्छन् । तिहार लिम्बु जातिको मौलिक पर्व होईन मनाउनु हुँदैन ।अझ मनगढन्ते मुन्धुम बनाएर भन्छन्, अस्ति नै इरुरे इथुक्नामा भन्ने चेली आफ्नो माइतीसँग जिस्किदाँ जिस्कदै फूलले स्तनमा लागेर मरिन् रे । त्यसैले लिम्बु चेली माइतीमा फूल लियादिया वर्जित छ रे । के साँच्चै मुन्धुमले फूलप्रति यति रुग्ण सौन्दर्य निर्माण गरेको छ ? चेली माइतीबीच आदर्श सम्बन्धको सेतु बनाउन मुन्धुमले रोक लगाएकै छ त ? लिम्बु समाजलाई कट्टरपन्थी र अतिवादी मुस्लिम समाजजस्तो बनाउने बाटो खन्दै गरेका मौलिकताको ठेकेदारहरु ले यो प्रश्नको निरूपण गर्न अब ढिला हुँदैछ ।

१. के तिहार लिम्बुहरूको पर्व हो ?

Advertisement

तिहार मात्रै होईन नेपालमा मनाईने कुनै पनि चाडपर्वमा लिम्बु जातिको साइनो जोडिँदैन । खास दिन र खास समयमा उत्सव मनाउनु पर्ने गरी लिम्बु जातिले कुनै पनि चाड पर्व नै निर्माण गरेको देखिँदैन । यसो हुनुको पछाडिका केही कारणहरु हुन सक्छन् । लिम्बु समुदायका आदिम पूर्खाहरूले जन्म, विवाह र मृत्युलाई नै उत्सवका रूपमा मनाउने प्रचलन विकसित गरे । यसको अलावा अरू कर्मकाण्डहरुलाई समेत उत्सवकै रूपमा मनाउँथे । जस्तै :- कुनै लिम्बुको घरमा अनुष्ठान तङ्सिङ गरिँदा तीन दिनसम्म सबै गाउँलेहरु भेला हुन्थे भोज भतेर चल्थ्यो । लिम्बुहरूको बिहे उस्तै धुमधामको हुन्थ्यो । तीन दिनसम्म त मुख्य भतेर नै चल्थ्यो । अझ टाढाको पाहुनाहरुलाई रोकेर छुट्टै मेजमान दिँदा एउटा बिहेमा गाउँभरिका मान्छेहरु हप्ता दिनसम्म अलमल हुन्थे । उत्सव मनाउथेँ । खान पिउन रमाइलो गर्नमा समय व्यतीत गर्थे । सुधाई कार्य (फजे) पनि कम्तीमा तीन दिनको हुन्थ्यो नै । कसैकोमा नयाँ जन्म, कसैकोमा बिहे, कसैकोमा फजे, कसै कसैकोमा पूजा पाठ, अनुष्ठान तीनराते तङ्सिङमध्ये कुनै न कुनै त समाजमा आई पर्थ्यो नै । यी सब गर्दा गर्दै लिम्बु जातिहरू प्रत्येक महिना कुनै न कुनै उत्सव मनाई रहेका हुन्थे ।

लेखक शेर्मा ।

अत: लिम्बु समाजमा रमाइलो गर्न उस्तव मनाउन कुनै खास उत्सव चाडपर्व निर्माण गर्न जरुरुत नै परेन । पछिल्लो समय चासोक तङनाम भनेर लिम्बुहरूको एउटा नयाँ चाड अस्तित्वमा आएको छ । यो पनि लिम्बुहरूको चाड होईन । लिम्बु समाजलाई भित्रदेखि बुझेको मान्छेले खासदिन खास तिथिमा चाडपर्व मनाउने संस्कार स्थापित भयो भन्नेमा विश्वास गर्ने कुरै भएन । अत: तिहार पनि लिम्बु समुदायको चाड होईन । तिहार नै हाम्रो चाड नभएपछि तिहार र बलिराजाको मिथक हु-बहु अनुवाद गरिएको तथाकथित पर्व बलिहाङ तङ्नाम पनि लिम्बुको पर्व हुने कुरै भएन । देउसीरे र भैलेनी गीत अनुसरण गरेर लिम्बु भाषामा अनुवाद गरिएको लारिंगेक नामलिंगेक खेल्ने प्रचलन पनि लिम्बुको हो भन्ने आधार नै रहेन ।

२. उसो भए लिम्बुले तिहार नमनाउने त ?

नेपाल बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको देश हो । कसैलाई पनि यो उक्ति बुझाई रहन जरूरत छैन । सिंगो नेपाली समाजले अपनत्व ग्रहण गरी सकेको तिहार/दीपावली पर्व लिम्बुहरुलाई पनि मनाउन छुट् छ । तिहारको सांस्कृतिक पक्षलाई एउटा कुनामा र सामाजिक पक्षलाई अर्को कुनामा राखेर हेर्ने हो भने यसको सामाजिक पक्षमा घाटाको विषय शायदै मात्र भेटिन्छ । उज्यालोको पर्व, नाचगान र गीत संगीतको पर्व, चेली र माइतीबीचको प्रेम व्यक्त गर्ने पर्व । यस्तो महान् उत्सव लिम्बु समाजले बहिष्कार गर्दा सांस्कृतिक पक्षबाट झिनो फायदा त होला तर यसले लिम्बु समाजमा पुर्याउने सामाजिक घाटाको लेखाजोखा बेहिसाब हुन आउँछ ।

३. तिहारलाई वलीहाङ् तङ्नाम चै भन्ने कि नभन्ने ?

इमान सिं चेम्जोङले ईतिहास लेख्न मात्र होईन बिगार्न पनि सिकाएर गए । उनले इसाईहरुको डुङ्गा डुबेको मिथकलाई लिम्बुकरण गराई दिए । अन्य धेरै मिथकलाई ईतिहास मात्र भनेनन् मुन्धुम नै हो भनेर ठोकुवा गरी दिए । इमान सिंको यहीँ काइदा उनी पछिका इतिहासकारहरुले पनि पछ्याए । कोही इतिहासकारले दुर्गा भवानीमा लिम्बुको मिथक जोडेर दशैं हाम्रो हो भन्ने बनाए । कोही ईतिहासकारले हिन्दुहरुको बलिराजाको मिथकलाई हुबहु अनुवाद गरेर वलीहाङ तङ्नाम नामाकरण दिलाए । लिम्बु ईतिहासको कुनै पनि कालखण्डमा नभेटिने नदेखिने पात्र बलीहाङ बलिराजाको अनुवाद मात्र थियो भन्ने कुरामा द्विविधा छैन । झन् पछिल्लो समय देउसी र भैली गीतलाई समेत लारिङेक र नामलिङेक भनी लिम्बुकरण गरी दिए । तर, मेरो विचारमा सुनिजान्ने लिम्बु इतिहासकारले जे गरे राम्रै गरे भन्ने लाग्छ । कम्तिमा लिम्बू भाषामा देउसीरे खेल्न पाईएको छ । लिम्बु भाषामा आशीर्वाद दिन पाइएको छ । सांस्कृतिक र भाषिक पक्षबाट हेर्नु पर्दा खासै घाटाको विषय छ जस्तो लाग्दैन । अब तिहारलाई वलिहाङ तङ्नाम भनेर स्वीकार गरेर जानुमा घाटा भन्दा पनि नाफाको विषय धेर देखिन्छ ।

केही जड मौलिकतावादिहरुले तिहारलाई वलीहाङ् तङ्नाम भनेर स्वीकार गर्नु हुँदैन भन्ने समूह पनि खडा गरेका छन् । तर त्यो समूहले वलीहाङ् तङनाम लिम्बुहरूको होइन तिहारलाई लिम्बुकरण गरिएको हो भन्ने सन्दर्भ निर्माण गर्न सक्ला जस्तो लाग्दैन । cultural mutation को कारण केही पुस्तापछि वलीहाङ तङ्नाम लिम्बुको नै हो भन्ने बुझाई जरूर निर्माण हुन्छ ।

४. लिम्बुनी चेलीहरु ले माइतीलाई फूल/टिका लगाउनु हुँदैन ?

लिम्बु समाजमा सबैले मुन्धुमलाई शिर मान्छन् । मुन्धुममा यसो गर्न मिल्दैन (सो?) भनिएको छ भनेपछि त्यो काम गर्न हतपती कसैको आँट आउँदैन । जस्तै मुन्धुमी मान्यता अनुसार येबा साम्बासँग निहुँ खोज्नु हुँदैन । उसले चाह्यो भने बाण/भेद(मन्त्र) हानेर ठहरै पार्छ । यहीँ मान्यताले गर्दा गाउँघरमा अझै पनि येबा साम्बाहरुसँग कोही लिम्बु झैझगडा गर्न मुद्दा मामिला गर्न अघि सर्दैनन् । मुन्धुममा अर्काको मूल खाबोलाई लात हान्ने हुँदैन भनिएको छ । कोही लिम्बुले पनि मूल खाँबो लात्ताले हान्ने हिम्मत गर्दैनन् । यो लिम्बुहरूको मुन्धुमप्रतिको सम्मान हो । मुन्धुम प्रतिको विश्वास हो । लिम्बुहरूको मुन्धुम प्रतिको यहीँ विश्वास र सम्मानको फायदा लुट्दै समाजका केही ठालु व्यक्तिहरूले चेलिमाइतीविच फूल दिन लिन नहुने कुरा मुन्धुममा लेखिएको छ भन्दै भ्रम र डर फिजाउने काम गरिरहेका छन् । मुन्धुम लेख्य र प्रमाणिक तथ्यको रूपमा छैन । उसो र दुई चार अक्षर पढेका जो कोहीले तथाकथित मिथक र कथा कहानी जोडेर भ्रम सिर्जना गर्न सक्छ ।

पछिल्लो समय इरूरे इथुक्नामा भन्ने चेली आफ्नो माइतीसंग जिस्किदाँ जिस्किँदै फूलले स्तनमा लागेर मृत्युवरण गरेकीले मुन्धुममा चेली माइतिबीच फूल लिया दिया वर्जित छ भन्ने भाष्य निर्माण गरेका छन्, केही ठालुहरुले । अनि केही आलुहरुले चै यसैलाई तथ्य मानेर समाजमा भ्रम फैलाउने कोसिस गरिरहेका छन् । म आफै साम्बासंग यागाप्सीबा भएर मुन्धुम वाचन गर्न सहयोग गर्दै हिँड्ने मनुखे हूँ । न, मैले मुन्धुममा यो पात्रको नाम सुनें न मुन्धुममा फुलप्रति यति रुग्ण टिप्पणी भेटेँ । बरु मुन्धुमले त फूललाई जीवनको हरेक आयामहरूसँगको सौन्दर्य पो जोडेको छ । फूलको वर्णन र प्रयोगबिना कुनै कुनै संस्कार नै अपूर्ण हुन्छन् । जस्तै माङगेन्ना गरिँदा सेकमुरीफूङ अनिवार्य चाहिन्छ । युमा पूजा गर्दा अरूमफूङ, फुङ्गवा चाङमा गर्दा सिङ्जाङ्गो फूङ र मृत्यु संस्कार गर्दा मिक्चिरी फुङ् चाहिन्छ । अरू त अरू हिजो अस्तिसम्म छोरी चेलीको हक्थबा ल्याउँदा सिंगो सुँगुरको थुतुनोभरी फूल सिउरेर ल्याउने प्रचलन थियो । अहिले पो सिङ्गो सुँगुर बोक्ने प्रचलन हराउँदै गयो र सुँगुरको थुतुनोमा फूल सिउरेर ल्याउने प्रचलन छैन ।

यद्यपि अझै पनि छोरी चेलीले ल्याएको हक्थबा प्रस्तुत गर्दा सरदारले रक्सीको बोतलमा फूल सिउरेर मुन्धुम फलाक्छ । यदि चेली माइतीबीच फूल लिन दिन वर्जित नै भएको भए चेलीहरुले ल्याउने कोशेलीमा फूल सिउरेर त ल्याइन्न थियो होला । किन कि चेलीले ल्याएको कोसेलीले माइतीले पनि खानु पर्छ । मुन्धुममा चेलीले माइतीलाई फूल दिनु हुँदैन भन्ने तर्क आफैमा कपोकल्पित मात्रै हो । तिहारलाई तिहारको रूपमा मनाउन र तिहारमा आफ्नो माइतीलाई सम्मान र माया व्यक्त गर्न लिम्बुनी चेलीहरुलाई खुल्ला छ । लिम्बु समाज तालिवानले शासन गरिरहेको जस्तो कट्टरपन्थी मुश्लिम समाज होईन । दुई चार जना ठालूहरुले भन्दैमा आफ्नो माइतीलाई सम्मान गर्न नछोड । माइतीलाई मायाँ गर्न नछाड । लाऊ चेली लाऊ,,,, आफ्नो माइतीको निधारमा सप्तरंगी टिका र गलाभरी माला लगाऊ ।

(माथि प्रस्तुत गरिएको आलेख लेखकको निजी धारणा हो । सं.)