May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

शुक्रबारे(छथर) । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको शुक्रबारे बजारमा युमा साम्यो महासभा तेह्रथुमको छ्थर सम्मेलन, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आउँदो १२ औँ राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउने निष्कर्षसहित सम्मेलन सम्पन्न भएको हो ।

लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङको प्रमुख आतिथ्यमा भएको हो कार्यक्रम युमा साम्यो महासभा तदर्थ समिति तेह्रथुमका अध्यक्ष कुलबहादुर लिम्बुको अध्यक्षतामा भएको थियो कार्यक्रममा स्थानीय राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र नेकपा समाजवादी, जसपा, संघीय लिम्बुवान मञ्च, जनमुक्ति पार्टीका प्रतिनिधिहरू सामेल थिए । त्यस्तै, किरात याक्थुङ चुम्लुङ छथर गाउँपालिका अध्यक्ष थानाहाङ तिगेला, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु, युमा साम्यो महासभाका केन्द्रीय, जिल्ला र स्थानीय स्तरका युमा साम्योका पदाधिकारीहरुको सहभागिता रहेकोे थियो ।

Advertisement

अन्तरक्रियामा सहभागीहरु ।

सम्मेलनलाई सम्बोधन गर्दै याक्थुङ मुन्धुम र इतिहासका खोजकर्ता समेत रहेका मेयर माबुहाङले मौलिक याक्थुङ पहिचानको अस्तित्वको सवाल महत्वपूर्ण भएकोले आउँदो जनगणानामा युमा धर्म उल्लेख गर्नुपर्ने बाध्यता आएको बताए । उनले संख्याको होडबाजीमा लागेर आफ्नो अस्तित्व दाउमा राख्न नमिल्ने समेत धारणा राखे ।

१२ औँ राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण गत भदौ ३० देखि असोज १७ गतेसम्म सम्पन्न भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले देशभर ८ हजार ५ सय सुपरीवेक्षक खटाएका छन् । उनीहरूले करिब ७० लाख घरपरिवारका मूलीलाई भेटेर ७६ प्रश्नहरू सोध्नेछन् । दोस्रो चरणमा हुने मुख्य गणना यहीँ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सम्पन्न हुँदैछ । जसमा करिब ४० हजार गणकहरू थपिने छन् ।

युमा साम्यो महासभाले मौलिक अस्तित्वका लागि भन्दै जातिको महलमा याक्थुङ लिम्बु, मातृभाषा र पुख्र्यौली भाषामा याक्थुङ र धर्मको महलमा युमा लेख्न आग्रह गर्दै अरुणपूर्वका नौ जिल्लाहरूमा अभियानलाई तीव्र बनाइरहेको छ । अर्को तर्फ जातीय सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले जाति र भाषाहरूको महलमा लिम्बु र धर्मको महलमा किरात लेख्न भन्दै आफ्ना निकायहरूमा परिपत्र गरेको छ । २०६८ को राष्ट्रिय जनगणनाअनुसार लिम्बुको जनसंख्या ३,८७,३०० रहेको छ ।